काठमाडौँ । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौँमा सञ्चालन गरेको ‘राइड्स फर गोल्स’ अभियान सम्पन्न गरेकाे छ। विद्यालयका खेलमैदानको पूर्वाधार सुधार गर्दै विद्यार्थीहरूको खेलकुद सहभागिता बढाउने उद्देश्यसहित यो अभियान अंग्रेजी महिना मेभरि सञ्चालन गरिएको हो।
इनड्राइभले प्रत्येक तेस्रो यात्राबाट संकलित आम्दानीको १० प्रतिशत काठमाडौँका केही विद्यालयहरूमा खेल मैदान मर्मत तथा खेलकुद सामग्री वितरणमा खर्च गरेको थियो। संकलित रकममार्फत खेल मैदानको संरचनागत मर्मत, मनोरञ्जनात्मक स्थानहरूको सिर्जना र बास्केटबल, फुटसल बल, व्याडमिन्टन र्याकेट लगायतका खेलकुद सामग्री वितरण गरेकाे जनाएकाे छ।
इनड्राइभका एपीएसी कम्युनिकेसन लिड पावित नन्दा आनन्दले भनिन्, “मोबिलिटीले समुदायलाई सशक्त बनाउने विश्वास हामीमा छ। राइड्स फर गोल्स अभियानमार्फत विद्यालयका बालबालिकाको स्वास्थ्य र समग्र विकासमा प्रत्यक्ष सहयोग पुग्ने वातावरण बन्यो। बालबालिकाले टिम वर्क, आत्मविश्वास र खेलकुदमार्फत जीवनदक्षता सिकून भन्ने हाम्रो चाहना हो।”
यस्तै, इनड्राइभ एशिया–प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक मार्क टोलीले भने, “दैनिक सवारीजस्ता सामान्य क्रियाकलापले पनि सामाजिक परिवर्तन ल्याउन सक्छ भन्ने कुराको यो अभियान उत्कृष्ट उदाहरण हो। हामी स्थानीय समुदायमा दीर्घकालीन प्रभाव पार्ने योजनाका लागि प्रतिबद्ध छौं। राइड्स फर गोल्स अभियान बालबालिकालाई खेलमार्फत उत्साह र अवसर प्रदान गर्ने दिशामा एक महत्वपूर्ण कदम हो।”
इनड्राइभको यो सामाजिक उत्तरदायित्व अभियान न्यून सेवा प्राप्त समुदायहरूमा सकारात्मक परिवर्तन ल्याउने दीर्घकालीन उद्देश्यसहित अगाडि बढाइएको हो। विशेष गरी विकासमा पछि परेका क्षेत्रका बालबालिकाका लागि सुरक्षित खेलकुद वातावरण निर्माणमा इनड्राइभको ‘राइड्स फर गोल्स’ अभियानले उल्लेखनीय योगदान पुर्याएको छ।
प्रतिक्रिया दिनुहोस्