काठमाडाैँ । दशकौं सुनसान तिनाउको वसन्तपुर डाँडामा केबलकारको माथिल्लो स्टेसन र कामाख्यादेवी मन्दिरसहित पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक, हिन्दु धर्मावलम्वी र भारतीय पर्यटकको आकर्षण बढेको छ ।
लुम्बिनी केबलकार लिमिटेड औपचारिकरुपमा सञ्चालनमा आएको दुई वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेश गरेको गरेको हो । २०८० जेठ १५ देखि व्यवसायिक सञ्चालनमा आएको केबलकारको औपचारिक उद्घाटन २०८० जेठ २५ गते भएको थियो ।
बुटवल–३ बमघाटमा तल्लो स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरमा माथिल्लो स्टेशन रहेको केबलकारले बुटवल र वसन्तपुरलाई जोडेको छ । सञ्चालनमा आएको दुई वर्षमा साढे तीन लाख बढी पर्यटकले केबलकार यात्रा गरेका कम्पनीले जनाएको छ । कुल पर्यटकमध्ये भारतीय पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा तेब्बरले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा ८ प्रतिशत भारतीय आएकामा चालु आर्थिक वर्षमा बढेर २१ प्रतिशत पुगेको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए । दुई वर्षमा झन्डै ५० हजार भारतीय पर्यटक आएको कम्पनीले जनाएको छ । तेस्रो मुलुकका पर्यटक संख्या भने एक प्रतिशत भन्दा कम छ । दशकौंसम्म सुनसान पाल्पाको वसन्तपुर केबलकार सञ्चालनमा आएपछि गुल्जार भएको छ ।
समुन्द्री सतहबाट करिव एक हजार मिटर उचाईमा रहेको डाँडोमा लुम्बिनी केबलकारको माथिल्लो स्टेशनसहित प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर, जीपलाइन, स्काई साइक्लिङ, ज्वायन्ट स्वीङ ( आधुनिक पिङ), बाल उद्यान, रेष्टुंरा, सेमिनार हल लगायत पर्यटकीय संरचना बनेकाले दुई वर्षमै सुनसान डाँडो आकर्षक पर्यटकीय गन्तव्य बनेको हो ।
बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माताको मन्दिरलाई पुनःनिर्माण गरी नयाँ बनाइएको छ । यी दुई मन्दिर हिन्दु धर्मावलम्वीका लागि विशिष्ट आकर्षण बनेका छन् । कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने र जीवनमा आइपर्ने संकट मोचन हुने धार्मिक विश्वासले नेपाल र भारतका विभिन्न शहरबाट भक्तजनहरु उल्लेख्य संख्यामा आउने गरेको मन्दिरका मूल पुजारी सुरेश पौडेल बताउँछन् ।
केबलकारले जन्मदिनमा निःशुल्क यात्रा हरेक महिनाको १ गते साँझ महाआरती अफर, ५० जना भन्दा बढी समूहमा आउनेलाई विशेष छुट अफर लगायत विभिन्न संघ,संस्थासँग टिकट दरमा छुटको सम्झौता गरी बजार प्रवद्र्धन गरिरहेको अपरेसन म्यानेजर सैंजूले बताए ।
बसन्तपुरमा तराईका ठाउँभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाइको थलो बनेको कम्पनीका अपरेशन म्यानेजर सैंजूले बताए ।
धार्मिक र पर्यटकीय पूर्वाधार, जुनसुकै ऋतुमा अनुकुल मौसम, बजारको कोलाहल र प्रदुषणबाट मुक्त स्वच्छ, शान्त वातावरणका कारण वसन्तपुर नेपालीको मात्र नभई भारत उत्तर प्रदेशका पर्यटकको पनि रोजाईको थलो बनेको उनले बताए ।
केबलकारले पाल्पा तिनाउ –३ र बुटवल वडा नं ३ का बासिन्दालाई टिकटमा ५० प्रतिशत छुट तथा प्रति टिकट दुई पालिकालाई एक–एक प्रतिशत रकम कर बापत दिएको छ ।
यसबाट स्थानीय विकासमा पनि राम्रै योगदान भएको छ । अष्ट्रियाको विश्व विख्यात डुपलमायर कम्पनीबाट बनेको लुम्बिनी केबलकार २ किलोमिटर ६ सय मिटर लामो रहेको छ । २५ वटा गोन्डला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ ।
प्रतिक्रिया दिनुहोस्