अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आइपुगे


काठमाडाैँ । अमेरिकाबाट डिपोर्ट गरिएका नेपालीहरू काठमाडौँ आइपुगेका छन् । 

आइतवार राति त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनीहरू नेपाल आइपुगेका हुन् । अध्यागमन कानून उल्लंघन गरेको भन्दै अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपालीलाई गतराति काठमाडौँ ल्याएर छोडेको हो ।

उनीहरूलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौँ ल्याएको थियो । अमेरिकाले पछिल्लोपटक डिपोर्ट गरेका ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ ।

भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरूलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ ।