काठमाडौँ । मुलुकका केही स्थानमा लम्पी स्किन र अफ्रिकन स्वाइन फिभर देखा परेको समाचारप्रति कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले रोगको वास्तविक अवस्था अध्ययन गरी तत्काल नियन्त्रणका लागि प्रभावकारी उपाय पहिचान गर्न मातहतका निकायलाई सक्रिय बनाएको जनाएको छ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सोमबार बसेको सम्बन्धित अधिकारीहरूको बैठकले, रोग प्रभावित क्षेत्रमा तुरुन्तै टोली खटाउने निर्णय गरेको मन्त्री अधिकारीको सचिवालयले जानकारी दिएको छ।
उक्त टोलीमा पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सकको नेतृत्वमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, प्रदेशस्तरीय सम्बन्धित अधिकारी तथा स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
मन्त्रालयले रोगको अवस्था सम्बन्धी दैनिक तथा आवधिक प्रतिवेदन पशु सेवा विभागमार्फत मन्त्रालयका पशु स्वास्थ्य महाशाखाका वरिष्ठ पशु चिकित्सक डा. तपेन्द्र प्रसाद बोहोरासमक्ष पेश गरिने व्यवस्था गरिएको पनि जनाएको छ। यसका लागि डा. बोहोरालाई फोकल पोइन्ट तोकिएको छ।
बैठकले वर्षायामको सुरुवातसँगै लामखुट्टे लगायतका किराबाट सर्न सक्ने पशु रोगको जोखिमलाई ध्यानमा राख्दै रोग नियन्त्रण र खोप कार्यक्रम सञ्चालन गर्न आवश्यक खोप, औषधि तथा श्रमिकलगायतका वस्तु र सेवा खर्चको आँकलन गरी तीन तहका सरकारको समन्वयमा स्रोत व्यवस्थापन गर्ने जिम्मेवारी पशु सेवा विभागलाई दिएको छ।
प्रतिक्रिया दिनुहोस्