पनौतीमा सुरू भयो १४२१ वर्ष पुरानो हिले जात्रा (फाेटाे फिचर)


काठमाडाैँ । काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा सांस्कृतिक शहर पनौतीमा १४२१ वर्षदेखि परम्परागत रूपमा मनाउँदै आइएको हिले जात्रा यस वर्ष पनि सुरू भएको छ । 

जात्रा जेठ २७ गतेबाट औपचारिक रूपमा सुरू भइ २८ गतेसम्म चल्नेछ । परम्पराअनुसार पुण्यमती खोलामा नागको प्रतिक स्वरूप दुईवटा बाँस तेस्र्याइएपछि नगरका देवगण (दुइचा न्याकेगू) ले पानी तरेर जात्रा शुरु भएको मानिन्छ ।

राति भद्रकालीको रथ तानिने, गैंडु पूजा गरिने, विशेष होम सञ्चालन हुने परम्परा रहेको छ । चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा विधिपूर्वक पूजा–आराधना गरिन्छ। विशेषगरी इन्द्रेश्वर महादेव मन्दिरको पूर्वपट्टि रहेको महेश्वर गणेशको खट बोकेर नगर परिक्रमा गरिन्छ । साँझपख भद्रकालीको रथ तानेर चक्र पूजा गरिन्छ ।

पूर्णिमाको दिन जात्राको मुख्य आकर्षण— तीनवटा रथको दौड र जुधाइ — आयोजना गरिन्छ । भद्रकाली, महादेव र इन्द्रेश्वरका रथहरूलाई बजारमा दौडाउन थालिन्छ र अन्त्यमा तीनै रथलाई आपसमा जुधाइन्छ । स्थानीय परम्पराअनुसार यो रथजात्रा देवतारूपी पात्रहरूको काम–क्रीडासँग सम्बन्धित धार्मिक आख्यानमा आधारित छ । मान्यताअनुसार भद्रकाली देवी ६४ योगिनीको रूप धारण गरी महादेवलाई लखेट्छिन् ।

महादेव त्रिवेणीमा लुक्न पुग्छन् तर भद्रकालीले नछाडेपछि भैरवको रूपमा रूपान्तरण भई देवीलाई पछ्याउँछन् । अन्ततः भद्रकाली चारैतिरबाट घेरिन्छिन् र रथ जुधाइ त्यही प्रसंगको प्रतिक हो । जात्रामा सहभागी हुन आएका स्थानीय र बाहिरी पाहुनाहरूको स्वागतका लागि घर–घरमा बलि दिने, पाहुना भित्र्याउने, चिउरी र केरा खाएर घुम किन्ने परम्परा अझै कायम छ ।

जात्रा सकिएको भोलिपल्टैदेखि रोपाईं सुरू गरिन्छ । पूजापाठ, देवगणको शोभायात्रा, रथ तान्ने, अबीर जात्रा, सांस्कृतिक कार्यक्रमहरू हुने भएकाले पनौती नगरपालिकाले मंगलवार र बुधवार सार्वजनिक बिदा समेत दिएको छ । फाेटाेः न्युज एजेन्सी नेपाल