काठमाडौं । सरकारले ३ अर्ब ८५ करोड रुपैयाा बराबरको विकास ऋणपत्र निष्काशन गरेको छ ।
सार्वजनिक ऋण व्यवस्थापक कार्यालयले मंगलबार (आज) एक सूचना जारी गर्दै ९ वर्षे अवधिको विकास ऋणपत्र २०९१ ऋणपत्रको बिक्री खुल्ला गरिएको जनाएको छ ।
कार्यालयका अनुसार उक्त बोलकबोल आज १० बजेदेखि ३ बजेसम्म बोलकबोल समय निर्धारण गरिएको छ । बोलकबोलमा इच्छुक व्यक्ति, बैंक तथा वित्तीय संस्था साथै संगठित संघसस्थाहरु सहभागी हुन सक्नेछन् ।
बोलकबोलमा सबैभन्दा कम ब्याजदर बोलकबोल गर्ने बैंक तथा वित्तीय संस्थालाई प्राथमिकताका आधारमा विकास ऋणपत्र बाँडफाँट गरिने कार्यालयले जनाएको छ ।
यो ऋणपत्रमा लगानीकर्ताले अर्धवार्षिकरुपमा व्याज प्राप्त गर्र्नेछन् । ऋणपत्रमा लगानीकर्ताले घटीमा पाँच लाख र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाइ पाँच लाख रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन दिनुपर्ने छ ।
बोलकबोल गरेको व्याजदरलाई सानोदेखि ठुलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलदाताहरुलाई एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने कार्यालयले जनाएको छ ।
कार्यालयकाअनुसार ऋणपत्रको व्याजदर बोलकबोलको माध्यामबाट निर्धारण हुने छ ।
विकास ऋणपत्र भनेको सरकारले दुइ वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने वित्तीय औजार हो । हाल विभागबाट निष्कासन भएका विकास ऋणपत्र ५, ७, ८, ९, १०, ११, १२, १३ र १५ वर्षे अवधिका रहेका छन् । नेपाल सरकारको आवश्यकतानुसार यो ऋणपत्रको अवधि निर्धारण गरिन्छ ।
सरकारलाई देशको आर्थिक विकासको लागि आवश्यक मध्यम तथा दीर्घकालीन अवधिको स्रोत जुटाउनु यो ऋणपत्रको उद्देश्य रहेको छ । विकास ऋणपत्र बोलकबोलको माध्यमबाट निष्कासन हुने गर्दछ भने बोलकबोलमा एकल ब्याजदर विधि (डच बोलकबोल प्रक्रिया) प्रयोग गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्