काठमाडौँ । नेपालसँग १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको विदेशी विनिमय सञ्चिति रहेको देखिएको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको हो ।
२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २३.१ प्रतिशतले वृद्धि भएर २०८२ वैशाख मसान्तमा २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा २०.५ प्रतिशतले वृद्धि भएर १८ अर्ब ४० करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा २२ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । यो १९.६ प्रतिशतले वृद्धि भएको हो ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ५६.८ प्रतिशतले वद्धि भएको छ । २०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८२ वैशाख मसान्तमा भई ३ खर्ब १ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ । २०८२ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको छ ।
२०८२ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदाय सँगका अनुपातहरु क्रमशः ४१.१ प्रतिशत, १२१.४ प्रतिशत र ३३.८ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्