काठमाडौँ । नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालले चीनको चोङछिङ शहरमा आयोजना गरिएको ‘चीन अटो चोङछिङ सम्मेलन २०२५’ मा नेपालको तर्फबाट सहभागिता जनाएको छ।
२०२५ जुन ६ र ७ तारिखमा सम्पन्न सम्मेलन ‘परिवर्तनको चरणमा उद्योगको भविष्य निर्माण’ भन्ने मुख्य नारासहित नयाँ ऊर्जा र स्मार्ट प्रविधिको संक्रमणबारे विश्वव्यापी छलफलमा केन्द्रित रहेकाे थियाे
नाडाका अध्यक्ष करण चौधरीले सम्मेलनअन्तर्गत चीन–आसियान सत्रमा प्यानलिस्टको रूपमा सहभागिता जनाउँदै नेपालको अटोमोबाइल क्षेत्र, व्यापारिक सम्भावनाहरू तथा क्षेत्रीय सहकार्यका अवसरबारे धारणा राखेका थिए।
उनले सम्मेलनका दुई उच्चस्तरीय बन्द सत्रहरूमा समेत सहभागिता जनाएका थिए, जसमा चीन–आसियान विद्युतीय सवारी सहयोग तथा दिगो यातायात प्रवर्धनका विषयमा छलफल भएको थियो।
सम्मेलनमा बहुपक्षीय लगानी र व्यापार नीतिमा सहकार्यका सम्भावनाहरूबारे डेलिगेशन संवाद पनि सम्पन्न भएकाे थियाे । यस्तै, नाडाले सम्मेलन स्थलमा नेपालको अटोमोबाइल व्यवसाय प्रवर्धन गर्न स्टल समेत राखेको थियो।
स्टलमार्फत नेपालको विद्यमान बजार सम्भावना, नीतिगत अवस्था र वातावरणका साथै आगामी अगस्टमा काठमाडौँमा आयोजना हुने नाडा अटो शो २०२५ को जानकारी पनि प्रदान गरिएको थियो। यसप्रति चिनियाँ अटोमोबाइल कम्पनीहरूले उच्च चासो देखाएका थिए।
नाडाको इतिहासमै पहिलो पटक यस्ता किसिमको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिनिधित्व हुनु नेपालको क्षेत्रीय तथा विश्व बजारमा पहिचान विस्तार र सहकार्यको सम्भावनालाई अझै सुदृढ बनाउने संकेतका रूपमा हेरिएको छ।
सम्मेलनमा नाडातर्फबाट महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्यसमिति सदस्य प्रकाश कपुरी, यमुना श्रेष्ठ, आमन्त्रित सदस्य अनुपकुमार बराल र नारायणप्रसाद पौडेलको समेत सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्