स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध लागूपदार्थ नियन्त्रण अभियानअन्तर्गत पुतलीबजार नगरपालिका वडा नम्बर ५ स्थित विभिन्न स्थानमा फडानी गरिएको १० हजार गाँजाका बोटहरू नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहत अस्थायी प्रहरी चौकी पौवेगौडेबाट खटिएको प्रहरी टोलीले स्थानीय समुदायको सहकार्यमा जेठ २३ गतेदेखि २६ गतेसम्म उक्त कार्य सम्पन्न गरेको हो।
गाँजा फडानी कार्य पुतलीबजार नगरपालिका वडा नम्बर ५ का आहाले, सित्याङ, एक्लेखेत, ढाडखोला, ठूलास्वरा लगायतका क्षेत्रहरूमा गरिएको थियो। प्रहरीका अनुसार करिब १० हजार गाँजाका बोटहरू फडानी गरी नष्ट गरिएको हो।
प्रहरीले यो अभियान समाजमा शान्ति सुरक्षा प्रवर्धन, कानूनको कार्यान्वयन तथा जनचेतना अभिवृद्धिको उद्देश्यले सञ्चालन गरेको जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उक्त अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिइने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्