छिमेकीहरूसँगको सम्बन्धहरूलाई विस्तार गर्दै लाभ लिन चाहन्छौँः मन्त्री भण्डारी


काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले आन्तरिक लगानी प्रवर्धनलाई प्राथमिकता दिँदै छिमेकी मुलुक भारत र चीनसँगको आर्थिक सहयोगलाई विस्तार गर्ने योजना बनाएको बताएका छन् ।

फ्रेण्ड अफ सिल्क रोड क्लब–नेपालले मङ्गलवार काठमाडौँमा आयोजना गरेको ‘साझा भविष्यसहितको समुदायको निर्माण’ विषयक कार्यक्रममा बोल्दै उनले आफूहरू भारत र चीनसँगको सम्बन्धलाई विस्तार गर्दै उनीहरूको पुँजी, प्रविधि र अनुभवबाट लाभ लिने योजना रहेको बताएका हुन् ।

उनले दुवै छिमेकीसँग समान रूपमा सहकार्य गर्ने बताए । मन्त्री भण्डारीले आफ्नो भू–राजनीतिक अवस्थालाई उपयोग गर्दै भारत र चीनबाट आर्थिक रूपमा कसरी फाइदा लिन सकिन्छ भन्ने विषयमा सरकार गम्भीर रहेको समेत बताए । उनले नेपालले आफ्नो अनुकूलतामा छिमेकी मुलुकहरूको विश्वास कमाउनुपर्ने समेत जिकिर गरे ।

उनले सरकारको नीति तथा कार्यक्रम र बजेटबाट पनि लगानीमैत्री वातावरण बनाउने कुरालाई विशेष प्राथमिकतामा राखेर संरचनात्मक रूपमा जटिलताहरूलाई पन्छाएर थुप्रै कानूनहरू परिवर्तन गरेको बताए ।