काठमाडाैँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विस्तारित कर्जा सुविधा (इसिएफ) अन्तर्गत नेपालको आर्थिक सुधार कार्यक्रमको छैटौं किस्ताबापत नेपालले करिब ४ करोड २७ लाख अमेरिकी डलर (करिब ५ अर्ब ८३ करोड रुपैयाँ) बराबरको वित्तीय सहयोग प्राप्त गर्ने भएको छ ।
नेपाल भ्रमणमा आएको कोषको टोलीले यसबारे समीक्षा पूरा गरेको हो । आइएमएफको कार्यकारी बोर्डबाट छैटौं समीक्षा पूरा हुनका लागि कर्जा लगानीको समीक्षामा थप प्रगति गर्ने पूर्वशर्त पूरा गर्न आवश्यक रहेको जनाइएको छ।
यो सहमतिसँगै इसीएफअन्तर्गत नेपालले हालसम्म प्राप्त गरेको कुल वित्तीय सहायता २५ करोड ११ लाख एसडिआर (लगभग ३३ करोड १८ लाख अमेरिकी डलर) पुग्नेछ, जुन कुल २८ करोड २४ लाख एसडिआरमध्येको अंश हो ।
आइएमएफको टोलीले जेठ १३ देखि २८ सम्म काठमाडौंको भ्रमण गरेको थियो। मिसनको अन्त्यमा जारी गरिएको विज्ञप्तिमा नेपालले इसिएफको सहयोगमा सञ्चालित कार्यक्रमको कार्यान्वयनमा निरन्तर प्रगति गरिरहेको र कार्यक्रमको कार्यसम्पादन सन्तोषजनक रहेको उल्लेख छ ।
मध्य(जनवरी २०२५ का लागि बालबालिका कल्याण अनुदानको सूचकबाहेक सबै परिमाणात्मक कार्यसम्पादन मापदण्डहरू पूरा भएको आइएमएफले बताएको छ ।
आइएमएफले वित्तीय क्षेत्रका जोखिमहरू अझै कम नभएका भन्दै अप्रिल २०२५ मा खराब कर्जा (एनपिएल) बढेर ५.२ प्रतिशत पुगेकाले बैंकको पुँजीमा असर पारेको बताएको छ ।
आइएमएफ टोलीले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.शिवराज अधिकारी, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, तथा अन्य वरिष्ठ सरकारी तथा केन्द्रीय बैंकका अधिकारीहरूसँग भेटघाट गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्