काठमाडाैँ । काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोर अन्तर्गत बसुन्धरा देखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता र भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।
हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक रहेका परियारसहितको समूहमाथि सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुर्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।
अनुसन्धान अनुसार निर्माण व्यवसायी ‘समानान्तर सेवा प्रा.लि’ ले सो ठेक्कामा सहभागी हुन नपाओस् भनेर पूर्वाग्रही ढंगले काम गराई ठेक्काको मूल्याङ्कन प्रक्रियामा गलत र मनसायपूर्वक प्रतिवेदन तयार पारिएको आयोगको दाबी छ।
आरोपपत्रअनुसार प्रतिवादीहरूले आइबीएफ न. ०६-२७-८०-८१–एनसीबीडब्लु–केएमसी (बसुन्धरा देखि म्हेपीसम्मको सामाखुसी कोरिडोरमा ढल निर्माण कार्य) सम्बन्धी ठेक्कामा मिलेमतो र बदनियतका साथ भ्रष्टाचार गरेका छन्।
प्रतिवादीहरूमध्ये तत्कालीन प्रशासकीय अधिकृत प्रदीप परियारसँगै बोलपत्र मूल्याङ्कन समितिका सदस्यहरू- निर्देशक रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, इन्जिनियर जनार्दन गिरी र सहायक निर्देशक उत्तम दाहाल पनि प्रतिवादीका रूपमा छन्। उनीहरूसँग ४ करोड ३१ लाख ७२ हजार दुई सय ८७ रुपैयाँ बिगो मागदाबी भएको छ।
यसअघि पनि सोही निर्माण व्यवसायी र काठमाडौँ महानगरपालिकासम्बन्धी अर्को ठेक्का- टेकु बिल्डिङ निर्माण कार्य (आईएफबी नं. ३३-१८५-०७७-७८–एनसीबीडब्लु–केएमसी) मा भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर भइसकेको छ। सो मुद्दामा समानान्तर सेवा प्रा.लि संलग्न रहेको र हाल दायर मुद्दामा पनि सोही कम्पनीलाई पूर्वाग्रही रूपमा नदिई भ्रष्टाचार गरिएको आरोपपत्रमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्