काठमाडाैँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसाेसिएसन (नाइमा) ले काठमाडौँको कमलपोखरीस्थित कार्यालयमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न गरेको छ।
२०८२ साउन २१ देखि २५ गतेसम्म काठमाडौँकाे भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीका लागि चार पांग्रे, दुई पांग्रे र व्यावसायिक सवारी साधनका क्षेत्रहरूबाट कुल ५० ब्रान्डहरूले सहभागिता जनाएका छन्।
यसका लागि कुल ४८ वटा स्टलहरू बाँडफाँड गरिएको छ जसमा २१ ओटा चार पांग्रे, १८ ओटा दुई पांग्रे र ९ ओटा व्यावसायिक सवारी साधन ब्रान्डहरूलाई प्रदान गरिएको छ।
नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले सबै स्टलहरू बुक भइसकेका र अब प्रदर्शनीको सफल कार्यान्वयनमा ध्यान केन्द्रित गरिएको बताइन् ।
नेपाल मोबिलिटी एक्स्पो २०२५ ले परम्परागत प्रदर्शनीहरूमा नयाँपन ल्याउँदै उपभोक्ता र व्यवसायीहरूलाई आफ्ना सवारी साधनहरूलाई आकर्षक रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने जनाएकाे छ ।
सहभागी ब्रान्डहरूमा चार पांग्रेमा बिओवाईडी, सिट्रोएन, फोर्थिङ, ग्रेट वाल मोटर्स, हेन्प्री भल्ट्स, हुन्डाई, काइयी, किया, लिपमोटर, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिशी, निसान, ओमोदा एण्ड जाएकु, प्युजो, प्रोटोन, रेनोल्ट, टोयोटा, भोल्क्सवागन र जिकर रहेका छन्।
दुई पांग्रे सवारी साधनका ब्रान्डहरूमा एम्पेयर, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल इनफिल्ड, सेगवे-नाइनबोट, सुजुकी, ट्रायम्फ, टिभीएस, अल्ट्राभायोलेट, याडिया र जिहो छन्।
व्यावसायिक सवारी साधनका ब्रान्डहरूमा चेरी वान्डा, डोङफेङ, फ्यरिजन, हुआजी, कामा, क्यारी, किङलङ र सनलङ रहेका छन्। प्रदर्शनीको समग्र व्यवस्थापन मिडिया स्पेस सोलुसन प्रा. लि. ले गर्नेछ।
प्रतिक्रिया दिनुहोस्