५१९ करोड रुपैयाँको लगानी प्रतिबद्धता, मधेश कृषि रूपान्तरणको अग्रस्थानमा
जनकपुर, लालगढ।
विश्वमै पहिलोपटक प्रादेशिक तहको खाद्य फोरम नेपालकाे मधेश प्रदेशमा सम्पन्न भएको छ। ‘मधेश फूड फोरम २०२५’ नामक ऐतिहासिक कार्यक्रम धनुषाको लालगढमा आयोजना गरिएको हो।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय (मधेश प्रदेश सरकार), खाद्य तथा कृषि संगठन (एफएओ) र वर्ल्ड फूड फोरम (डब्लुएफएफ) नेपालको सहकार्यमा सम्पन्न उक्त फोरमले समावेशी, जलवायु-सहनशील र लगानीमैत्री कृषि-खाद्य प्रणाली निर्माणको खाका प्रस्तुत गरेको छ।
फोरमको प्रमुख उपलब्धिका रूपमा कृषि, वन, खाद्य प्रशोधन र कोल्ड स्टोरेज क्षेत्रमा लगानीका लागि करिब ५१९ करोड रुपैयाँ बराबरको प्रतिबद्धता सार्वजनिक गरिएकाे छ । लगानीकर्ताहरूसँग कार्यक्रमकाबिच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएकाे हाे ।

फोरमको उद्घाटन सत्रमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा प्रमुख मन्त्री सतीश कुमार सिंह, अर्थमन्त्री सुनिल कुमार यादव, विभिन्न मन्त्रालयका सचिवहरू, युवा उद्यमी, लगानीकर्ता, निजी क्षेत्र, विकास साझेदार, नागरिक समाज तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो।
प्रमुख अतिथि सतीश कुमार सिंहले मधेशलाई नेपालकै कृषि क्रान्तिको अगुवा प्रदेशको रूपमा चिनाउँदै, स्थानीय नवप्रवर्तनमा लगानी, नीति र अभ्यासबीचको समन्वय, परम्परागत ज्ञान र आधुनिक प्रविधिको जोडलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। “हामीले किसान, महिला र युवालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ,” उनले भने।
अर्थमन्त्री सुनिल कुमार यादवले भने, “अब मधेशको बजेट कृषि केन्द्रित हुनेछ। सिँचाइ, कृषि उद्यम विकास र किसान सहायता प्रणालीमा ठूलो लगानी गरिनेछ।”

एफएओका महानिर्देशकका विशेष प्रतिनिधि ड्यानियल गुस्ताफसनले भने, “मधेशले विश्वकै पहिलो प्रादेशिक खाद्य फोरम आयोजना गरेर उदाहरणीय कदम चालेको छ। अब युवाहरूले कृषि क्षेत्रमा भविष्य देख्नुपर्छ।”
नेपाल तथा भुटानका लागि एफएओ प्रतिनिधि केन शिमिजुले मधेशमा संघसंस्थाको सशक्त उपस्थिति, सामुदायिक सहकार्य र प्राविधिक पहुँचले यो फोरम आयोजना गर्न उपयुक्त बनाएको बताए।
राष्ट्रिय गाउँपालिका महासंघकी उपाध्यक्ष ममता महतोले भनिन्, “मधेशले देशलाई खुवाउने क्षमता राख्छ। तीनै तहका सरकारहरूबीच सहकार्य आवश्यक छ।”
मन्त्री जनार्दन सिंह क्षेत्रीले समापन मन्तव्य दिँदै भने, “अब मधेशले ‘कसरी योगदान दिन सक्छ’ भन्ने होइन, ‘कसरी कृषि रूपान्तरण गर्न सक्छौं’ भन्ने सोच्नुपर्ने समय आएको छ।”
फोरम वर्ल्ड फूड फोरम, एफएओको ह्यान्ड–इन–ह्यान्ड पहल तथा “चार उत्कृष्टता”—उत्तम उत्पादन, उत्तम पोषण, उत्तम वातावरण, र उत्तम जीवन—सहितका अन्तर्राष्ट्रिय अवधारणासँग मेल खाने गरी आयोजना गरिएको हो।

फाेरमले खाद्य सुरक्षाको चुनौती, जलवायु संकट, र ग्रामीण गरिबीको सञ्जाल तोड्न सक्षम समाधान प्रस्तुत गरेको छ। साथै, निजी क्षेत्र, युवा उद्यमशीलता र दिगो कृषि विकासको नयाँ सम्भावना समेत खोलिदिएको छ।
वर्ल्ड फूड फोरम सन् २०२१ मा खाद्य तथा कृषि संगठन (एफएओ) को पहलमा स्थापना गरिएको अन्तर्राष्ट्रिय युवा नेतृत्वद्वारा सञ्चालित मञ्च हो।
विश्वभरिका युवाहरू, अनुसन्धानकर्ता, नीति निर्माताहरू, निजी क्षेत्र र नागरिक समाजलाई एकै ठाउँमा ल्याएर खाद्य प्रणाली रूपान्तरणका लागि नवीन विचार, प्रविधि र लगानी प्रवर्द्धन गर्न सहयोग पुर्याउँछ। युवा केन्द्रित, नवप्रवर्तनमुखी र समाधानमुखी कार्ययोजनामार्फत वर्ल्ड फूड फोरमले भविष्यका लागि सुरक्षित, पोषणयुक्त र दिगो खाद्य प्रणाली निर्माण गर्न पहल गरिरहेको छ।











प्रतिक्रिया दिनुहोस्