काठमाडाैँ । आजभन्दा २० वर्षअघि हिमाली जिल्ला रसुवाको लाङटाङ क्षेत्रका घरका छानाहरू प्रायजसो हिउँले ढपक्क ढाकेको हुन्थ्यो ।
घरछेउमा कञ्चन हिमनदी बग्थ्यो । युवाहरू बिहान उठ्ने बित्तिकै घरको आँगनमा रहेका हिउँका मोतीजस्तै टल्किने कणहरूसँग खेल्दै सफा गर्न लाग्थे । तर अब यो अनुभव एकदेशको कथा जस्तो भएको बताउँछन् स्थानीय पासाङ तामाङ ।
आकाशमा बादल लाग्दा र एकैछिनको झरी पर्दा पनि हिउँ पर्ने अनुमान गर्ने स्थानीयको अहिलेको अनुमानले समेत काम गर्न छोडिसक्यो । अहिले लाङटाङ राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा हिउँ पर्ने कुनै ठेगान हुँदैन । २० वर्ष अघिसम्म हिमनदी (ग्लेसियर) बस्तीको नजिकैसम्म फैलिएको बताउनुहुन्छ लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष तामाङ ।
उनी भन्छन्, “पहिले ग्ल्यासियर तलसम्म थियो, अहिले त हिमाल पग्लिएर माथिसम्म पुगेको छ । बर्खामा पहिरो भन्ने कुरा हुन्थेन, अहिले त कहिले आउँछ भन्ने नै थाहा हुँदैन । ट्रेक जान पनि डर लाग्ने अवस्था छ ।”
जलवायु परिवर्तनको बढ्दो प्रभाव र विश्वतापमानमा भएको वृद्धिका कारण हिमालहरु संकटमा परेको उनले सुनाए । उनले तापक्रम बढेकै कारण हिमालमा कहिले पहिरो जाने भन्ने ठेगान नहुने हुँदा होशियार भएर हिँड्नुपर्ने बाध्यता रहेको बताए । वि.स. २०७२ सालमा आएको बिनासकारी भूकम्प समेत जलवायु परिवर्तनकै कारण आएको हुनसक्ने पासाङको आशंका छ । उनले पर्यटन व्यवसायको उचित व्यवस्थापन हुन नसक्दा जलवायु परिवर्तनको असर बढिरेहको बताए। हिमालका रेखाहरुसँगै पर्यटयन व्यवसाय पनि मेटिँदै जाने उनको चिन्ता छ ।
हिमरेखा सरेको देखेका स्थानीयको अनुभवले जलवायु परिवर्तनको प्रभाव हिमालमा कति परेको छ भन्ने प्रष्ट हुन्छ । बढ्दो औद्योगिकरण र पृथ्वीको तापमान दु्रत र अप्राकृतिक रुपमा बढेको कारण हिमालको जीवन संकटमा पर्दै गएको छ ।
लाङटाङकै होटल व्यवसायी कान्छा तामाङले २० वर्षअघि एकमिटर उचाईसम्म हिउँले ढाक्ने गरेको अनुभव सुनाउनु भयो । पछिल्लो केही वर्षमा हिमरेखाहरु माथि जाँदै गरेको उनको भनाइ छ । यस क्षेत्रमा संचालित होटल व्यवसाय व्यवस्थित नभएको कारण पनि पर्यावरणमा प्रतिकुल असर परेको उनको भनाइ छ ।
उनले सरकारले पर्यटकीय क्षेत्रमा सञ्चालित होटहरुको लागि उचित मापदण्ड बनाउन आवश्यक रहेको समेत बताए । पर्यटकको संख्या बढेपनि सबैजसो स्थानीयहरु होटल व्यवसायमै लागेको कारण अपेक्षाकृत कमाई हुन छोडेको उनको अनुभव छ ।
छेउछाउमा सेताम्मे हिमाल । बिचमा हिउँले सेतै ढाकिएको मानव बस्ती । घर जति छन् प्रायः सबै होटल हुन् । नेपालमा पदयात्रामा आउने पर्यटकको तेस्रो रोजाइमा पर्ने रसुवा जिल्लास्थित लाङटाङको क्यानजेन भ्याली पुग्ने आन्तरिक पर्यटकहरु बढे पनि भुइँभरी छरिएका फोहोर देखेर दिग्दार हुने गरेका छन् । यो क्षेत्रको फोहोर व्यवस्थापनमा स्थानीय सरकार र स्वयं होटल व्यवसायीहरूले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा पर्यटकलाई निराश बनाउने गरेको छ ।
पयर्टकको संख्या बढेसँगै फोहोरको मात्रा पनि बढ्दा अगामी दिनमा पर्यटन व्यवसायमा नै असर पर्ने चिन्ता रहेको स्थानीय पासाङ लोप्छेङले बताए । पहिले अलिकति भएको फोहोरलाई समेत माटोमा पुर्ने गरिएकोमा अहिले जलाउने भएको कारण यसले वायु प्रदुषण समेत बढाउँदै लगेको बताए ।
लाङटाङमा जलवायु परिवर्तनका प्रभावहरू भौगोलिक, आर्थिक, र सामाजिक सबै क्षेत्रमा देखिन थालेका छन् । हिमनदीहरू खुम्चिँदै गएका छन् भने पहिरो र अनियमित मौसमी घटना बढिरहेका छन् । हिमालको रेखामाथि सर्ने क्रमसँगै गाउँको व्यवसाय र युवा पलायल पनि हुँदै गएको छ । सरकारले हिमालको मुद्दामा विश्व समुदायलाई सचेत गराउन भन्दै समय समयमा सभा र सम्मेलन गर्ने भएपनि प्रभावितहरुलाई सहभागि नगराउँदा ति सभाहरु औचित्यहिन बन्दै गएका छन् । न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्