काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा सरकार अपेक्षित रूपमा लचक नभएको टिप्पणी गरेका छन् ।
बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपमहासचिव पुनले यस्तो टिप्पणी गरेका हुन् । भिजिट भिसा प्रकरणको सम्बन्धमा सरकार नरमको हुनुको सट्टा झन गरम हुँदै गएको उल्लेख गर्दै जिम्मेवार बन्नुपर्ने बताए ।
उनले भिजिट भिसा प्रकरणलाई प्रतिपक्षको विषय नभई आम जनताको पीडा भएको भन्दै सरकार छानविनमा प्रतिबद्ध हुनुपर्ने बताए ।
“भिजिट भिसा प्रकरणबारे सरकार भनेजति अझै लचक भएको छैन । भोलिसम्म सरकार जिम्मेवारपूर्वक र लचकताका साथ प्रश्तुत हुन्छ भन्ने आशा छ । हामी धेरै नरम भएका छौँ, सरकार गरम छ । सरकार अलि नरम र जिम्मेवार हुुनुपर्छ । यो विषय प्रतिपक्षको नभई जनताको विषय हो,”उनले भने ।
भिजिट भिसाको आवरणमा हुँदै आएको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता भए नभएको बुझ्न र प्रकरणको छानविन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै विपक्षी दलहरूले संसद अवरोध गर्दै आएका छन् । १३ जेठदेखिको संसद बैठक अवरोध गर्दै आएका विपक्षी दलहरूले १५ जेठमा बजेट ल्याउन दिए पनि दुई साता बढी हुँदा बजेटमाथिको छलफल सुरु हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्