मोटरसाइकल चोरीमा संलग्न एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा


काठमाडौँ । काठमाडौँको शंकरापुर नगरपालिका–५ पालुबारीबाट एक चोरीको मोटरसाइकलसहित पक्राउ परेका व्यक्ति ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्ने व्यक्ति सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ धुसकोट घर भई हाल काठमाडौँको काँडाघारी बसोबास गर्दै आएका २२ वर्षीय संजय तामाङ हुन्।

ट्राफिक प्रहरीले तामाङलाई मोटरसाइकलको नक्कली नम्बर प्लेट प्रयोग गरिरहेको अवस्थामा पक्राउ गरेको हो। वास्तविक नम्बर बागमती प्रदेश ०२-०५१ प २११९ रहेको मोटरसाइकलमा तामाङले नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०४९ प २८९६ राखेर चलाईरहेका थिए।

उक्त मोटरसाइकल दाङका मिलन नेपालीको भएको र बालाजुबाट हराएको भनी उनले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए। खोजतलासका क्रममा शंका लागेपछि ट्राफिक प्रहरीले जाँच गर्दा नम्बर प्लेट मिल्दैन भन्ने पुष्टि भएको थियो।

पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए।

एसपी गिरीले सवारीधनीहरूलाई आफ्नो सवारी सुरक्षित स्थानमा पार्क गर्न, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक जस्ता सुरक्षा उपकरण प्रयोग गर्न, सुरक्षा साइरन जडान गर्न तथा सुनसान स्थानमा पार्किङ नगर्न आग्रह गरेका छन्।

उनले हराएका सवारी साधनको खोजतलास कार्य ट्राफिक प्रहरीमार्फत नियमित रुपमा भइरहे पनि सवारीधनीहरू आफैँ पनि सतर्क रहनुपर्ने बताए।