काठमाडौँ । ‘बसेपनि सहर, गाउँकै खाने रहर’ नारासहित पैँचो पसल प्रा.लिले तीन दिवसीय नेसनल सेल्स समिट सम्पन्न गरेको छ। समिटमार्फत कम्पनीले कृषिजन्य उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा प्रवर्धन गर्ने रणनीति तय गरेको छ।
नेपाली मौलिक स्वाद र ग्रामीण उत्पादनलाई सहरसम्म पुर्याउँदै आएको पैँचोले कृषि पेसालाई व्यवसायिक बनाउन किसानसँगको सहकार्यलाई अझ सुदृढ बनाउने बताएको छ।
पैँचो पसलका प्रबन्ध निर्देशक ध्रुव न्यौपानेले विदेश पलायनको बढ्दो प्रवृत्तिलाई रोक्न कृषि क्षेत्रमा अवसर खोज्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “नेपालमा कृषि क्षेत्रमा अपार सम्भावना छ। पैँचोका उत्पादनले नेपाली वस्तुहरू विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्छन् भन्ने प्रमाणित गरेको छ।”
उनका अनुसार नेपाली उत्पादनप्रति उपभोक्ताको रुचि बढ्दै जाँदा उत्पादन क्षमता, रोजगारी र देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नेछ।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत (सिइओ) केशव न्यौपानेले हाल देशभरबाट एक लाखभन्दा बढी किसान पैचोसँग जोडिइसकेको जानकारी दिए। “किसानको खेतिबाट सुरु भएको उत्पादन बजारमा लोकप्रिय बन्दै गएको छ। यसले कृषि उत्पादनको माग अझै बढ्ने संकेत दिएको छ,” उनले भने।
सीइओ न्यौपानेले नेपालमै राम्रो आम्दानी हुने वातावरण बनिरहेको उल्लेख गर्दै पैचोका सेल्स प्रतिनिधिहरू विदेश जानुको सट्टा स्वदेशमै अवसर खोज्न प्रेरित भएको बताए।
पैँचो पसलका प्रमुख बजार व्यवस्थापक लक्ष्मण गैरेले कम्पनीको उत्पादनले स्वदेश तथा विदेशमा आफ्नो बजार दायरा विस्तार गरिरहेको उल्लेख गरे। “कर्मचारीले नेतृत्व र जिम्मेवारीमा ध्यान दिए नेपाली ब्राण्डको विकासमा समय लाग्दैन भन्ने उदाहरण पैचो बनेको छ,” उनले भने।
उनले स्वदेश र विदेशमा बजार विस्तारमा योगदान पुर्याउने सबै कर्मचारीप्रति आभार व्यक्त गरे। समिटमा चालु आर्थिक वर्षको समीक्षा र आगामी वर्षको रणनीतिमाथि देशभरबाट सहभागी सेल्स प्रतिनिधिहरूले गहन छलफल गरेका थिए। छलफलबाट ग्राहकको पहिलो रोजाइमा पर्ने उत्पादन बनाउने लक्ष्यसहित थप प्रतिबद्धतासाथ अघि बढ्ने निष्कर्ष निकालिएको थियो।
पैचो पसलले ग्रामीण कृषकबाट संकलन गरिएका कच्चा पदार्थहरू प्रयोग गरी केचप, जाम, अचार, चुक, छोप, कोदोको पीठो, सिन्की, महलगायत ७० भन्दा बढी उत्पादन तयार गरी स्वदेश तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउँदै आएको छ।
नेशनल सेल्स समिटमा पैचोका नेशनल सेल्स हेड, उत्पादन विभाग प्रमुख, कल सेन्टर, ब्रान्डिङ विभाग, सेल्स सुपरभाइजर तथा डिलर सपोर्टरसहित सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्