काठमाडौं । तेह्रथुम पावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले असार ६ गतेदेखि शत प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट वैशाख १९ गते अनुमति पाएको थियो ।
कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत जेठ ५ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।
हकप्रदमा आवेदन दिने अन्तिम मिति साउन ४ गते निर्धारण गरिएको छ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
कम्पनीले हकप्रद बिक्रीबाट प्राप्त रकम कम्पनीद्वारा प्रवर्द्धित क्यासकेट परियोजनाको रूपमा रहेको २ मेगावाट क्षमताको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण र अन्य लाभदायक हाइड्रोपावर कम्पनीमा लगानी गर्नुका साथै बैंकको कर्जा तिर्न उपयोग गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्