अमेरिकी लगानी भित्र्याएर व्यापार वृद्धि गर्नुपर्ने डा.खतिवडाको सुझाव


काठमाडाैँ । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा.युवराज खतिवडाले अमेरिका–नेपाल व्यापार सम्बन्ध सुदृढ गर्न अमेरिकी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआइ) नेपालमा आकर्षण गर्न जरुरी रहेको बताएका छन्।

नेपाल गार्मेन्ट एसाेसिएसन, नेपाल–यूएसए चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्री र नेपाल कार्पेट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसनद्वारा संयुक्तरूपमा बुधबार काठमाडौँमा आयोजित ‘नेपाल–अमेरिका व्यापारस् अवसर र चुनौतीहरू’ विषयक अन्तरक्रियामा पूर्वअर्थमन्त्रीसमेत रहेका खतिवडाले एफडीआईबाट नेपाली उत्पादनको मूल्य श्रृंखला बलियो बन्ने र निर्यात विस्तारमा टेवा पुग्ने बताएका हुन्।

“एफडीआईले उत्पादनमा आधुनिक प्रविधि भित्र्याउँछ, जसले निर्यातयोग्य वस्तुहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन मद्दत गर्छ,” उनले भने, “अमेरिकासँग द्विपक्षीय लगानी सम्झौता (बीआईटी) गर्दै व्यापार सम्बन्ध मजबुत बनाएमा नेपालले धेरै लाभ लिन सक्छ।”

खतिवडाले एफडीआई प्रवर्धनमार्फत व्यापार प्रवर्धन गर्नुपर्नेमा जोड दिँदै, भ्यालु चेन्जको प्रभावले निर्यातमा नयाँ उचाइ ल्याउने बताए। उनले भविष्यमा लगानी बढ्दै गएका अवस्थामा नेपालले अमेरिका लगायतका देशहरूसँग दोहोरो कर सम्झौता पनि अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।

नेपाल अहिले अल्पविकसितबाट विकासशील मुलुकमा उक्लन लागेकाले, अमेरिका तथा अन्य ठूला व्यापारिक साझेदारहरूलाई नेपालका वस्तुहरूका लागि अनुकूल व्यवहारको आवश्यकता बारे विश्वस्त गराउनुपर्ने खतिवडाले बताए।

उनले हाल नेपाल एफएटीएफको ग्रे लिस्टमा परेकाले अन्तर्राष्ट्रिय व्यापारमा चुनौती थपिएको भन्दै, एफएटीएफका सिफारिसहरू प्रभावकारीरूपमा कार्यान्वयन गरेर चाँडै ग्रे लिस्टबाट बाहिरिनुपर्ने बताए।