साझेदारी र कनेक्टिभीटी नेपाल भारत साझा समृद्धिका आधार छः परराष्ट्रमन्त्री राणा


काठमाडाैँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल–भारत बिच व्यापार, पारवहन र लगानीलाई तीब्र बनाइ कनेक्टिभीटीका माध्यमबाट आर्थिक साझेदारीलाई अगाडि बढाउनुपर्ने बताएकी छन् ।

नेपाल–भारत रणनीतिक संवाद सम्बन्धी आज काठमाडौँमा आयोजित एक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री डा. राणाले नेपाल भारतबिचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभीटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताएकी हुन् ।

नेपाल र भारतले दुई देशबिचको सम्पर्क सञ्जाललाई विभिन्न प्लेटफर्महरूमार्फत समृद्धिमा रूपान्तरण गर्ने समय आएको बताइन् । नेपाल–भारत सम्बन्ध सभ्यताको सुरूवातमा राखिएका जगहरूमा निर्मित रहेका प्रसंग उल्लेख गर्दै मन्त्री राणाले नागरिकको जीवन साझा मूल्यमान्यता, संस्कृति र भावनामा आधारित रहेकाले उनीहरूबिचको जनसम्पर्क, सहकार्य र कनेक्टिभीटीले नै दुवै देशको समृद्ध भविष्यको रेखा कोर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

नेपाल र भारतले सडक, रेल्वे, जलमार्ग, हवाई मार्ग, डिजिटल पूर्वाधार लगायतमा लगानी गरेर पारस्परिक सम्पर्क सञ्जाल बढाउनुपर्नेमा जोड दिइन् ।

मन्त्री डा. राणाले हाल विश्वव्यापी आर्थिक परिदृश्य ज्ञानमा आधारित अर्थतन्त्र, सेवाहरू र डिजिटल प्लेटफर्महरूतर्फ केन्द्रित भइरहेको बताउँदै अबका दिनमा दुई देशले पनि डिजिटल अर्थतन्त्र, प्रविधि र नवप्रवर्तन, आधुनिक शिक्षा, सीप विकास र रचनात्मक अर्थतन्त्रका क्षेत्रमा आफ्ना प्रयासहरुलाई साझा रुपमा केन्द्रित गर्नुपर्नेमा जोड दिइन् ।