नेपाल–कम्बोडिया व्यापार सहकार्य सुदृढ गर्न एफएनसीसीआई र क्याम्फेबाबिच समझदारी


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एन्ड बिजनेस एसाेसिएसन (क्याम्फेबा) बिच द्विपक्षीय व्यापार सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

स्विट्जरल्यान्डको जेनेभामा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको उपस्थितिमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र क्याम्फेबाका उपाध्यक्ष सोक लोरले २०२५ जुन १० मा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार रोजगारी, श्रम कानुन, व्यवसायका उत्कृष्ट अभ्यासहरूको आदान–प्रदान, तालिम, अनुसन्धान, क्षमता अभिवृद्धि र लगानी प्रवर्द्धनमा सहकार्य गरिने उल्लेख गरिएको छ। साथै, बी-टु-बी (बिजनेस टु बिजनेस) सहकार्यलाई प्राथमिकता दिँदै व्यापारिक साझेदारको पहिचान, व्यावसायिक मञ्चबीच सहकार्य, र लगानीका अवसरबारे सदस्यहरूलाई सहयोग गर्ने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन्।

अध्यक्ष ढकालले समझदारी अनुसार उद्यमशीलता, औद्योगिक सम्बन्ध, मानव संसाधन, व्यावसायिक सुरक्षा, सीप विकास र लगानी प्रवर्द्धनमा संयुक्त पहल गरिने जानकारी दिए । क्याम्फेबाका उपाध्यक्ष सोक लोरले यो समझदारीले दुई संस्थाबीच बलियो सञ्जाल निर्माण गरी नयाँ अवसरहरू सिर्जना गर्ने र क्षेत्रीय व्यापारिक सहकार्यलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

समझदारीको प्रभावकारी कार्यान्वयनका लागि नियमित परामर्श र आवश्यक व्यवस्थापन मिलाइने उल्लेख गरिएको छ। यो सम्झौता हस्ताक्षर भएको मितिबाट लागू भई ९० दिनको सूचना दिएर रद्द गर्न सकिने प्रावधान समेत राखिएको छ।

समारोहमा महासंघका उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ, कार्यकारिणी सदस्य बाबुकाजी कार्की र क्याम्फेबाका कार्यकारी निर्देशक तेप सोफोआनको पनि उपस्थिति थियो। समझदारीले नेपाल र कम्बोडियाबिच आर्थिक सहकार्यलाई थप सुदृढ गर्दै समावेशी व्यापारिक वातावरण निर्माणमा योगदान पुग्ने विश्वास गरिएको छ।