अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना, १०० जनाको शव फेला


काठमाडाैँ । भारतकाे अहमदाबादमा एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटनामा परेको छ। फ्लाइट नम्बर एआई-१७१ रहेको उक्त विमानमा कुल २४२ जना यात्रु सवार थिए, जसमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणी पनि थिए।

विमानमा सवार यात्रुमध्ये ५३ जना बेलायती, ७ जना पोर्चुगिज र १ जना क्यानाडेली नागरिक रहेको जानकारी प्राप्त भएको छ। दुर्घटनास्थलबाट हालसम्म १०० वटा शवहरू निकालिएको जानकारी प्राप्त भएको छ।

विमान जुन भवनसँग ठोक्किएको थियो, त्यो भवन अहमदाबाद सिविल अस्पतालका डाक्टरहरूको आवासस्थल रहेको बताइएको छ। यस दुर्घटनामा कम्तीमा १५ जना डाक्टर घाइते भएका छन्।

एअर इन्डियाको उक्त विमानले दिउँसो १:३८ बजे उडान भरेको थियो र उडानको दुई मिनेटमै अर्थात् दिउँसो १:४० बजे दुर्घटना भएको हो। प्रारम्भिक जानकारी अनुसार विमान एयरपोर्टको पर्खाल र एयर कस्टम कार्गो अफिस नजिकै दुर्घटनाग्रस्त भएको हो। विमान खसेसँगै वरपरको क्षेत्रमा बाक्लो धुवाँ देखिएको थियो।

यसअघि पनि सन् २०२० को अगस्ट ७ मा केरलको कोझिकोडमा एअर इन्डिया एक्सप्रेसको विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो भने ११० जना घाइते भएका थिए। त्यसबेला ‘वन्दे भारत मिसन’ अन्तर्गत सो विमानले दुबईबाट भारतीयहरूलाई स्वदेश फर्काइरहेको थियो।