चक्रघट्टा गाउँपालिकामा सौर्य बत्ती खरिदमा अनियमितता, पूर्व अध्यक्ष यादवसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


काठमाडौँ । सर्लाहीको चक्रघट्टा गाउँपालिका, सर्लाहीका तत्कालीन अध्यक्ष विक्रम यादवसहित १० जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्काई राइज ट्रेडिङ कन्सर्न, एस.के. स्टोर्स र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल कम्पनीहरूसमेत संलग्न रहेको भन्दै गैरकानूनी लाभ तथा राज्यलाई हानि पुर्‍याएको आरोपमा विशेष अदालतमा आरोपपत्र पेश गरेको हो।

आर्थिक वर्ष २०७८/७९ मा गाउँपालिकाले सौर्य बत्ती जडानका लागि वडा नम्बर १ देखि ९ सम्मका लागि रू.२ करोड १६ लाखको बजेट विनियोजन गरेको थियो तर, सो बजेटलाई नियतवश टुक्र्याई पाँचवटा फरक प्याकेजमा बाँडी लागत अनुमान बढाएर कुल रू.२ करोड ५३ लाख १७ हजार २५० बराबरको बजेट स्वीकृत गरी टेन्डर आह्वान गरिएको अनुसन्धानबाट खुलेको छ।

सौर्य बत्तीको पोल, सोलार प्यानल, लाइट, तार, नटबोल्ट, ब्याट्री, चार्ज कन्ट्रोलर खरिद तथा जडानका क्रममा गरिएको खरिद प्रक्रियामा नियमविपरीत टुक्रा टुक्रा पारेर खरिद गरिएको उजुरी परेपछि आयोगले अनुसन्धान थालेको थियो।