काठमाडौँ । गृहमन्त्री रमेश लेखकले शिक्षक र सरकारबिच भएको सम्झौता अनुसार नै विद्यालय शिक्षा विधेयक पारित हुने स्पष्ट पारेका छन् ।
बिहीवार नेपाल शिक्षक संघको २४औं संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले शिक्षक आन्दोलनले लोकतान्त्रिक र संयमित ढंगले आफ्ना मागहरू उठाएको भन्दै प्रशंसा गरेका हुन्। उनले भने, “शिक्षकहरूले विद्यालय र कक्षा कोठामात्र होइन, सडकमा समेत कसरी प्रस्तुत हुनुपर्छ भन्ने शिक्षा विद्यार्थीहरूलाई दिएका छन्।”
उनका अनुसार नेपाली कांग्रेस शिक्षकहरूले उठाएका माग सम्बोधन गर्ने विषयमा एकमतमा रहेको छ। “हामीले शिक्षकहरूसँग गरेको सहमति र सम्झौताबमोजिम विधेयक पारित गर्ने सरकारको प्रतिवद्धता यथावत् छ,” उनले भने ।
असार १५ गतेभित्रै शिक्षा विधेयक पारित गर्ने तयारी सरकारको रहेको उल्लेख गर्दै उनले केही नियोजित व्यक्ति राजनीतिक पूर्वाग्रहसहित सदन अवरुद्ध गरिरहेको आरोप लगाए ।उनले पछिल्ला दिनहरूमा अख्तियारले एक कर्मचारीमाथि गरेको छानबिनलाई लिएर संसद अवरुद्ध हुनु दुःखद भएको बताए ।
“साधारण विषयलाई लिएर व्यक्तिगत चरित्र हत्या हुँदै आएको छ र विगत दुई सातादेखि सदन अवरुद्ध गरिएको छ,” गृहमन्त्री लेखकको भनाइ थियो। तर सरकार सदन सुचारु गर्न प्रयासरत रहेको र सहमति अनुसार नै विधेयक अगाडि बढाइने उनले स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्