नेपाल बैंकर्स संघद्वारा गभर्नरहरूको स्वागत तथा विदाइ


काठमाडौँ । नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई विदाइ तथा नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई स्वागत गरेको छ ।

काठमाडौँमा कार्यक्रम गरेर संघले विदाइ तथा स्वागत गरेको हो । कार्यक्रममा बोल्दै निवर्तमान गभर्नर अधिकारीले आफ्नो कार्यकालमा बैंकिङ क्षेत्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे ।

उनले कोभिड–१९ महामारीको चुनौतीपूर्ण समयको स्मरण गर्दै कठिन अवस्थामा पनि बैंकहरूले देखाएको सफल नेतृत्वका लागि धन्यवाद व्यक्त गरे । उनले अर्थतन्त्रको स्थायित्वमा पुर्‍याएको सकारात्मक योगदानको प्रशंसा समेत गरे ।

अधिकारीले महामारीपछिको आर्थिक स्थायित्व राष्ट्र बैंकको मात्र उपलब्धि नभई, सम्पूर्ण बैंकिङ क्षेत्रको सहकार्य र साझा प्रयासको परिणाम भएको बताए ।

निवर्तमान गभर्नर अधिकारीले आफ्नो कार्यकालको अनुभब र सिकाइ साट्दै विगतका केही निर्णयहरू कठिन भए पनि ती निर्णयहरू दीर्घकालीन सुधारका लागि आवश्यक भएको बताए ।

नेपालको बैंकिङ क्षेत्रले बिगतको गल्तिबाट सिक्दै भविष्यमा त्यस्ता गल्तीहरू दोहोरिन नदिन तर्फसतर्क रहनुपर्ने बताए ।

नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पनि नेपालको बैंकिङ क्षेत्रलाइ प्रभावकारी र समग्र अर्थतन्त्रमा स्थायित्वको लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।

उनले नेपाल राष्ट्र बैंकको प्रभावकारी भएका वर्तमान नीति र व्यवस्थामा कुनै ठुलो परिवर्तन नगरी निरन्तरता दिने र आवश्यक परेको ठाउँमा मात्रै आवश्यक सुधार गर्ने स्पष्ट धारणा राखे ।

गभर्नर पौडेलले आगामी दिनमा बैंकिङ क्षेत्रसँग समन्वय र परामर्शमा आधारित नीति निर्माण गर्ने र नेपाली बैंकिङ क्षेत्रलाई अझ सबल, समावेशी र दीर्घकालीन विकासको दिशामा लैजाने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बैंकिङ क्षेत्रका प्रतिनिधिहरूले निवर्तमान गभर्नरप्रति कृतज्ञता प्रकट गर्दै नव नियुक्त गभर्नरलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।