काठमाडाैँ । बुटवल उपमहानगरपालिका–१७ रानीगञ्जस्थित जनशक्ति टोलमा रहेको सार्वजनिक जग्गा अनधिकृत रूपमा बेचबिखन गरिएको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका छन्। सो जग्गामा विगतदेखि बुद्ध मूर्ति स्थापना गरी संरक्षण गरिँदै आएको थियो।
स्थानीयका अनुसार २०६८ साल असार ७ गते तत्कालीन मोतीपुर गाविसले बौद्ध मन्दिर निर्माणका लागि सिफारिस गरेको जग्गामा बुद्ध मूर्ति राखी पर्खाल लगाएर संरक्षण गरिएको थियो।
बुद्धपथमा पर्ने सो जग्गा जनसंघर्ष टोलको नाममा रहेको भए पनि हाल केही व्यक्तिले अर्कै टोल विकास संस्थाको नाममा बिक्री गरिएको कागजात देखाएर कब्जा गर्न खोजेको आरोप स्थानीयले लगाएका छन्।
यसअघि सार्वजनिक रूपमा मूर्ति रहेको भए पनि कब्जा प्रयासपछि केही व्यक्तिहरूले मूर्तिमाथि तोडफोड गरेको र त्यसपछि मूर्ति सामाजिक भवनको बन्द कोठामा सुरक्षित राखिएको जनाइएको छ। त्यहाँ सानो सामुदायिक भवन पनि निर्माण गरिएको छ।
जनसंघर्ष टोल समितिका उपाध्यक्ष केशरबहादुर खड्काका अनुसार साविक मोतीपुर गाविसको कित्ता नं ४७ अन्तर्गतको १० बिघा ९ कट्ठा जमिनमध्ये ३ बिघा ४ कट्ठा क्षेत्रफलमा हाल करिब ३०० घरधुरीको बस्ती, एक शिवालय र बुद्ध मूर्ति रहेको जग्गा सार्वजनिक कायम रहेको अवस्थामा बेचबिखनको प्रयास भएको हो।
समितिका सचिव लक्ष्मी केसीले मालपोत तथा नापी कार्यालयसँगको मिलेमतोमा छुट जग्गा दर्ताको नाममा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्न खोजिएको दाबी गरिन्। उनले सार्वजनिक सम्पत्तिमा अनधिकृत कब्जा र विक्री वितरणको प्रयास आफैँमा गैरकानूनी कार्य भएको बताइन् ।
स्थानीय दिवाकर पौडेलले सार्वजनिक सम्पत्तिको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने र स्वतन्त्र छानबिन गरेर दोषीलाई कानूनी कारबाही गर्नुपर्नेमा जोड दिए । समितिका सल्लाहकार कृष्ण नेपालीले समेत सार्वजनिक मठमन्दिर कब्जा गर्नु कुनै हालतमा स्वीकार्य नहुने धारणा राखे ।
स्थानीयले मूर्ति तोडफोड र सार्वजनिक जग्गा हिनामिना गर्नेहरूमाथि कडा कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी गरिरहेको जानकारी दिएका छन्। न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्