काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्लस टु (कक्षा १२) मात्र पास गरेका विद्यार्थीलाई एनओसी नदिइनुपर्ने स्पष्ट धारणा सार्वजनिक गरेका छन् ।
शनिबार सम्पन्न ‘सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद’ कार्यक्रममा बोल्दै मन्त्री पन्तले डिप्लोमा उत्तीर्ण नगरी विद्यार्थीलाई विदेश पठाउने कार्यले देशको भविष्य अन्धकारतर्फ उन्मुख भएको चेतावनी दिएका हुन् । उनले भने, “प्लस टु पास गरेकै भरमा विदेश पठाउने प्रवृत्ति रोक्नु पर्छ। त्यो उमेर सानै हुन्छ, निर्णय क्षमताको पनि विकास भइसकेको हुँदैन। अब राष्ट्रिय बहसको खाँचो छ।”
विदेश जान उत्सुक विद्यार्थीहरूलाई आकर्षक सपना देखाएर लाखौँ रुपैयाँ असुल गर्ने कन्सलटेन्सीहरूको कामप्रति पनि मन्त्री पन्तले आपत्ति जनाए । उनले कतिपयले १०, १२, १५ लाख रुपैयाँ असुली कोरियामा जानसाथ यति लाखको जागिर पाइन्छ भनेर भ्रम फैलाउने गरेको उल्लेख गरे । उनका अनुसार यस्ता विश्वविद्यालय गुणस्तरहीन हुने गरेका छन्।
“देशभित्र १ खर्ब रुपैयाँ बैंकिङ माध्यमबाट गएको देखिन्छ, तर अवैध रूपमा झण्डै २ खर्ब रुपैयाँ बाहिरिएको अनुमान छ,” मन्त्री पन्तले भने, “एकजना मन्त्रीले मात्रै यो प्रवृत्ति रोक्न सक्दैन, सबै राजनीतिक दल एकमत भएर बोल्ड निर्णय गर्नु जरुरी छ।”
उनले योग्य र प्रतिभाशाली विद्यार्थीहरूलाई राम्रा विश्वविद्यालयबाट छात्रवृत्ति पाएमा पठाउन सकिने तर सामान्य अवस्थामा डिप्लोमा बिना पठाउन नहुने स्पष्ट धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्