काठमाडाैँ । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस सांसद डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटले अनुमान गरेको जस्तो आम्दानी हुन नसक्ने बताएका छन् ।
आइतवार प्रतिनिधि सभा बैठकमा ‘आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल’ मा भाग लिँदै उनले अन्तर्राष्ट्रिय अनुदान आफूहरूले प्रस्ताव गरेअनुसार अनुदान आउने अवस्था नरहेको र वैदेशिक ऋण पनि सोही हिसाबले कार्यान्वयन हुने अवस्था नरहेको बताएका हुन् ।
उनले राजश्वको लक्ष्यलाई पूरा गर्न कमी कठिन रहेको बताउँदै त्यसमा सरकारले मिहिनेत गर्नुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका डा. महतले बजेटमा उल्लेख गरिएको आम्दानीको स्रोत जुटाउन गाह्रो हुनेमा दुई मत नरहेको स्पष्ट पारे ।
“यो बजेटले जुन आम्दानीको अनुमान गरेको छ, त्यो आम्दानी चाहेजस्तो हुने अवस्था छैन । विदेशी अनुदान, अन्तर्राष्ट्रिय अनुदान हामीले प्रस्ताव गरेअनुसार अनुदान आउने अवस्था छैन । वैदेशिक ऋण पनि त्यही हिसाबले कार्यान्वयन हुने अवस्था छैन । र राजश्वको जुन लक्ष्य राखिएको छ, पहिले भन्दा घटाइएको छ । तै पनि, यो लक्ष्यलाई प्राप्त गर्न धेरै मिहिनेत गर्नुपर्नेछ,” उनले भने ।
आगामी बजेटले सामाजिक सुरक्षा भत्तामा समसामयिक रूपमा सुधार गरेर केही बचत गर्ने कोशिस गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्