बजेट सन्तुलित रहेको अर्थमन्त्री पौडेलको दाबी


काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सन्तुलित रहेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको तुलनामा पुँजीगत खर्चमा १६ प्रतिशतले वृद्धि गरिएको जानकारी दिएका हुन् । उनका अनुसार आगामी वर्षका लागि पुँजीगत खर्च वृद्धि गरिएको बजेटले उत्पादनमूलक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

“बजेटको आकार सन्तुलित हुने अठोट बजेटमा व्यक्त गरिएको छ,” अर्थमन्त्री पौडेलले भने,”पुँजीगत खर्च चालु आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरिएको छ।”

उनले अन्तरसरकारी वित्त हस्तान्तरणतर्फ पनि वित्त आयोगले निर्धारण गरेको सीमाभन्दा करिब ४ अर्ब रुपैयाँले बढी बजेट विनियोजन गरिएको उल्लेख गरे ।

राजस्वलाई आम्दानीको मुख्य स्रोतको रुपमा राख्दै सरकारको समग्र खर्चको करिब ६७ प्रतिशत भाग धान्ने गरी बजेट प्रस्ताव गरिएको पनि अर्थमन्त्री पौडेलको भनाइ थियो। राजस्वतर्फको अनुमानित आम्दानी अघिल्लो संशोधित लक्ष्यको तुलनामा १६ प्रतिशतले वृद्धि गरिएको पनि उनले स्पष्ट पारे ।