दुई तिहाइको शक्तिशाली सरकारले आम अपेक्षा विपरित बजेट ल्यायोः सांसद पाण्डे


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले दुई तिहाइको शक्तिशाली सरकारले आम अपेक्षाविपरित बजेट ल्याएको आरोप लगाएका छन् । 

आइतवार प्रतिनिधि सभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद पाण्डेले कम्युनिष्ट पार्टीको अध्यक्ष प्रधानमन्त्री, कम्युनिष्ट पार्टीकै अर्थमन्त्री र दुई तिहाइ सरकारले संविधानमा उल्लेखित समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा प्रतिबद्ध भनेर भनिएपनि सोहीअनुरुप बजेट आउन नसकेको बताएका हुन्।

बजेट व्यापारी र सरकारबीचको सम्झौताको दस्तावेज भएको आरोप लगाउँदै सांसद पाण्डेले बलियो सरकारको अति कमजोर र समाजवाद भनेर नथाक्ने पार्टीहरुको झिलिमिलि पुँजीवाद बजेटमा प्रकट भएको दाबी गरे ।

उनले ऋणको सावाँ ब्याज, साधारण खर्च घटाउन नसकिने, लक्ष्यअनुसार राजश्व नउठ्ने, विदेशी अनुदानपनि लक्ष्यअनुसार नआउने कारणले बजेट कार्यान्वयन हुनसक्ने विश्वसनीयता नदेखिएको बताए ।