काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रूपैयाँको बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै उत्पादनमुखी, रोजगारीमुखी र सामाजिक न्याय सुनिश्चित गर्ने लक्ष्यसहितको बजेट सार्वजनिक गरेका हुन्।
आगामी वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा १.१७ प्रतिशत बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट बनाएको थियो ।
बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। कुल विनियोजन बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत, पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७.७ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ रु.१० करोड अर्थात् ०.३ प्रतिशत रहेको छ।
बजेटमा पूर्वाधार विकासतर्फ १० अर्ब ५७ करोड, खानेपानी, सिँचाइ तथा ऊर्जातर्फ ४ अर्ब ७३ करोड ३० लाख, कृषि र उद्योगतर्फ २ अर्ब १८ करोड, पर्यटन, वन तथा वातावरणतर्फ २ अर्ब ९७ करोड ६६ लाख, शिक्षा, विज्ञान र सामाजिकतर्फ २ अर्ब ५ करोड ५५ लाख, स्वास्थ्यतर्फ ३ अर्ब ५१ करोड ७१ लाख, शान्ति सुरक्षाका लागि ९६ करोड विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्