स्याङ्जा । महालेखा परीक्षकको कार्यालयले स्याङ्जाको भीरकोट नगरपालिकामा मेडिकल उपकरण खरिदमा अनियमितता भएको निष्कर्ष निकालेको छ।
सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२३ (१) (ख) अनुसार सम्झौताअनुसारको वास्तविक कार्यसम्पादनको आधारमा मात्र भुक्तानी दिनुपर्ने व्यवस्था भए पनि, नगरपालिकाले सो नियमको उल्लंघन गरेको देखिएको छ।
भीरकाेट नगर अस्पतालका लागि विभिन्न १२ आईटमको मेडिकल उपकरण खरिद गर्दै पालिकाले टाईटन ईम्पेक्स प्रालिलाई कुल २० लाख ५७ हजार २५० रुपैयाँ भुक्तानी गरेको थियो तर, भुक्तानी विवरण अध्ययन गर्दा तीमध्ये दुईवटा उपकरण एउटै मेसिनले गर्ने कार्य दोहोरिएको पाइएको छ। यसका कारण एउटै मेसिन खरिद भएको भए पनि दुबै मेसिनको नाममा रकम भुक्तानी गरिएको हो।
महालेखाको प्रतिवेदन अनुसार, एउटै मेसिनबाट काम सम्भव हुने हुँदा २ लाख २६ हजार रुपैयाँ मूल्य बराबरको अर्को मेसिन खरिद आवश्यक थिएन। तर, पालिकाले दुबै मेसिनको लागि गरी ४ लाख ५२ हजार रुपैयाँ भुक्तानी गरेको पाइयो। यसरी एक मेसिनको नाममा दोहोरो भुक्तानी गरी २ लाख २६ हजार रुपैयाँ अनियमित रूपमा भुक्तानी भएको महालेखाले जनाएकाे छ ।महालेखाले सो अतिरिक्त भुक्तानी सम्बन्धित पक्षबाट असूल गर्नुपर्ने स्पष्ट सिफारिस गरेको छ।
प्रतिक्रिया दिनुहोस्