स्याङ्जामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने जेसीभी र ट्याक्टर नियन्त्रणमा


स्याङ्जा । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–१३ तोरिखोला लाम्पाटामा नदिजन्य पदार्थ (बालुवा, ढुंगा, गिटी) को अवैध उत्खनन् तथा ओसार–पसार गरिरहेको अवस्थामा दुई सवारीसाधन नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले गुप्त सूचनाका आधारमा उक्त स्थानमा छापा मार्दा ग.१ क. ३३११ नम्बरको जेसीभी र ग.१ त. ६६७१ नम्बरको ट्याक्टरलाई अवैध उत्खनन् तथा ढुवानीमा संलग्न रहेको पाइएपछि नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधनहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि पुतलीबजार नगरपालिका कार्यालयमा बुझाएको छ। प्रहरीले नदिजन्य स्रोतहरूको अवैध दोहनमा संलग्नमाथि निगरानी बढाएको जनाएको छ ।