काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि अमेरिकाबाट स्वदेश फर्किएका वैज्ञानिक मिङ्मार शेर्पाले आज प्रधानमन्त्रीसँग भेट गरी आफ्नो जनस्वास्थ्य अनुसन्धान परियोजनाबारे जानकारी गराएका छन्।
मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा अनुसन्धानकर्ता शेर्पा तीन महिना अघि नेपाल फर्किएका थिए र त्यसयता उनले गैर(संक्रामक रोग तथा पोषण विषयक परियोजना सञ्चालन गर्दै आएका छन्।
गत वर्ष संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिएपछि अमेरिकाको बोस्टनस्थित हार्वर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली विद्यार्थी तथा प्राध्यापकहरूलाई स्वदेशमै सिकेको ज्ञान र सीप उपयोग गर्न आग्रह गरेका थिए। सो अवसरमा उनले सरकारका तर्फबाट आवश्यक सबै प्रकारका सहजीकरणको प्रतिबद्धता जनाएका थिए।
त्यसको निरन्तरता स्वरूप प्रधानमन्त्री ओलीले अमेरिका भेट भएका नेपालीलाई स्वदेश फर्केर योगदान दिन पत्रमार्फत आग्रह गरेका थिए। त्यही पत्रबाट प्रेरित भएर शेर्पाले बेलायतको ब्रिस्टल विश्वविद्यालयको सहकार्यमा ब्राइट भिजन फाउन्डेसन दर्ता गरी करिब १० करोड रुपैयाँ बराबरको जनस्वास्थ्यसम्बन्धी अनुसन्धान परियोजना नेपालमा सुरु गरेका छन्। पाँच वर्षे सो परियोजना नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग सहकार्यमा अघि बढाइने जानकारी उनले प्रधानमन्त्रीलाई दिएका छन्।
फाउन्डेसनमार्फत सोलुखुम्बुमा आयोजित स्वास्थ्य शिविरबाट अहिलेसम्म एक हजार सात सयभन्दा बढी नागरिकले सेवा लिइसकेका छन्। साथै, शेर्पाको पहलमा त्यहाँ ग्रामीण समुदायका लागि निःशुल्क कम्प्युटर तालिम समेत सञ्चालित भइरहेको छ।
सोलुखुम्बुको सल्लेरीका शेर्पाले हार्वर्ड विश्वविद्यालयबाट इम्युनोलोजी विषयमा छात्रवृत्तिमा अध्ययन गरेका हुन्। उनले नेपालको अनुसन्धान क्षेत्र सबल बनाउनका लागि सरकारलाई कम्तीमा १ प्रतिशत बजेट छुट्याउनुपर्ने सुझाव दिएका छन्। साथै, नेपाली अनुसन्धान जर्नललाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन आवश्यक नीति तथा पूर्वाधार विकास गर्नुपर्ने धारणा पनि उनले राखे।
प्रधानमन्त्री ओलीले विदेशमा उच्च शिक्षा हासिल गरी मातृभूमिको हितमा योगदान दिनेमध्ये शेर्पा प्रेरणादायी व्यक्तित्व भएको उल्लेख गर्दै धन्यवाद दिएका थिए। साथै, उनले शेर्पाको आगामी प्रयासको सफलताका लागि शुभकामना पनि व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्