काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले हिमाल आरोहीहरूको हितका लागि आरोही कल्याणकारी कोष स्थापना गर्न लागेको जानकारी दिएका छन्।
७२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस–२०८२ को सफल आयोजना गर्न सहयोग पुर्याउने संस्थाहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा मन्त्री पाण्डेले सो जानकारी दिएका हुन्।
उनका अनुसार पर्यटनसम्बन्धी नयाँ ऐन राष्ट्रिय सभामा दर्ता भइसकेको छ, र उक्त ऐनमा आरोही कल्याणकारी कोषको व्यवस्था गरिएको छ। “यो कोष लामो समयदेखि माग हुँदै आएको विषय हो, सरकारले अब यसलाई व्यवहारमा ल्याउने तयारी थालेको छ,” मन्त्री पाण्डेले भने ।
मन्त्री पाण्डेले सगरमाथाको अन्तर्राष्ट्रिय नाम ‘माउन्ट एभरेष्ट’ भए पनि नेपालको सन्दर्भमा ‘सगरमाथा’ भन्ने नाममै यसको विश्वव्यापी मार्केटिङ गर्नुपर्ने धारणा राखे।
भारत र चीनजस्ता ठूला छिमेकी मुलुकबाट उल्लेखनीय संख्यामा पर्यटक भित्र्याउन सकिने सम्भावनालाई ध्यानमा राखेर सरकारले योजनाबद्ध ढंगले कार्य अघि बढाइरहेको जानकारी उनले दिए।
कार्यक्रममा सगरमाथा दिवसको सफल आयोजना गर्न भूमिका खेलेको भन्दै नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, ठमेल पर्यटन विकास परिषद्, सगरमाथा आरोही संघ र हनुमानढोका दरबार संग्रहालय विकास समितिलाई सम्मान गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्