स्याङ्जाको आँधिखोलामा दोहनविरुद्ध आवाज उठाउँदा रास्वपाका नेतामाथि आक्रमण


स्याङ्जा । स्याङ्जाको आँधिखोला नदीमा भइरहेको प्राकृतिक दोहनविरुद्ध आवाज उठाउने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई केन्द्रीय नेतामाथि भएको आक्रमण भएको छ।

दोहन रोक्न र सम्भावित प्राकृतिक प्रकोप न्यूनीकरण गर्न आवश्यक पहलका क्रममा वालिङ नगरपालिका–१० का नेपाली कांग्रेसका वडाध्यक्ष सुनिल खनालले रड प्रहार गरी आक्रमण गरेको आरोप लागेको छ।

रास्वपाका केन्द्रीय सदस्य तथा अभियन्ता मेघ आले र केन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपाल आक्रमणमा परी घाइते भएका छन्। प्राप्त विवरणअनुसार दिनकर नेपालको हेलमेट फुटेको छ भने दाहिने हातमा गम्भीर चोट लागी हड्डीमा फ्र्याक्चर भएको जनाइएको छ। हाल उनको थप परीक्षण तथा सिटी स्क्यानका लागि पोखरा अस्पताल लैजाने तयारी भइरहेको छ।

रास्वपाले उक्त घटनाप्रति तीव्र आपत्ति जनाउँदै आक्रमणलाई पूर्वनियोजित, हिंसात्मक र आपराधिक भन्दै गम्भीर रूपमा निन्दा गरेको छ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, देशमा विद्यमान लुटतन्त्रको अन्त्य गर्ने भयले यस्तो आक्रमण गरिएको हो। यसले हामीलाई सुशासन र लुटतन्त्रविरुद्धको अभियानबाट विचलित गर्ने छैन।

रास्वपाले आक्रमणमा संलग्न सबै व्यक्तिहरूलाई अविलम्ब पक्राउ गरी हदैसम्मको कानुनी कारबाही गर्न माग गरेको छ। साथै, घाइते नेताहरूको उपचारका लागि आवश्यक सम्पूर्ण पहल र जिम्मेवारी पार्टीले लिने जनाएको छ।