काठमाडौं । नेपाल सरकारले सशस्त्र द्वन्द्व र विभिन्न जनआन्दोलनका पीडितहरूको जीवन निर्वाह भत्तामा सरकारले वार्षिक १५ करोड रुपैयाँ वितरण गर्ने गरेको पाइएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ का लागि यस शीर्षकको सामाजिक सुरक्षामा कुल १५ करोड ३८ लाख रुपैयाँ छुट्याइएकोमा जेठ मसान्तसम्म जिल्ला प्रशासन कार्यालयहरूलाई १४ करोड ५४ लाख रुपैयाँ पठाइसकिएको गृह मन्त्रालयले जनाएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३का लागि पनि यही शीर्षकमा १५ करोड ३८ लाख रुपैयाँ नै विनियोजित छ । यो रकम गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूमा पठाइ त्यहाँ रहेको कार्यदलमा परेको निवेदन र वर्गीकरणका आधारमा वितरण गरिन्छ।
चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म सशस्त्र द्वन्द्व, जनआन्दोलन, मधेश आन्दोलनका घाइते तथा अपाङ्गता भएका, सशस्त्र द्वन्द्वमा अनाथ भएका १८ वर्ष मुनि बालबालिका र २६ जना सहिद परिवार गरी कुल ११४८ जनालाई जीवन निर्वाह भत्ताबापत १२ करोड ७७ लाख रुपैयाँ वितरण भइसकेको गृह मन्त्रालयले बताएको छ ।
यो रकम आर्थिक वर्ष २०७८/८१ मा यी विभिन्न आन्दोलन पीडित घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई १२ करोड ६४ लाख ६४ हजार रुपैयाँ वितरण गरिएको थियो भने आर्थिक वर्ष २०७९/८० मा १२ करोड ९५ लाख ६७ हजार १६६ रुपैयाँ वितरण गरिएको थियो ।
सरकारले ‘माओवादी सेनाका घाइते अपाङ्ग लडाकुहरू, सशस्त्र द्वन्द्व, ऐतिहासिक जनआन्दोलन र मधेश आन्दोलनका घाइते अपाङ्गहरूका लागि पुनर्स्थापना एवम् हेरचाह निर्देशिका, २०६८’ अन्तर्गत पीडितहरूलाई विभिन्न श्रेणीमा वर्गीकरण गरी जीवन निर्वाह भत्ता दिँदै आएको छ।
सरकारले सहयोगी आवश्यक पर्ने वा पुनरावलोकन भई ७५ वा ७५ प्रतिशतभन्दा माथि अपाङ्गता भएका व्यक्तिहरूलाई विशिष्ट अवस्थाका घाइते अपाङ्गता भएका, आफ्नो दैनिकीको लागि सहयोगी उपकरणको प्रयोग गर्ने वा पुनरावलोकन भई ५० वा ५० प्रतिशतभन्दा माथि ७४ प्रतिशतसम्म अपाङ्गता भएका व्यक्तिहरूलाई प्रथम श्रेणीका घाइते अपाङ्गता भएका,आफ्नो दैनिक जीवनयापन गर्न सक्ने वा पुनरावलोकन भई २५ वा २५ प्रतिशतभन्दा माथि ४९ प्रतिशतसम्म अपाङ्गता भएका व्यक्तिहरूलाई दोस्रो श्रेणीका घाइते अपाङ्गता भएका र सामान्य चोट भएका वा पुनरावलोकन भई २४ प्रतिशतसम्म अपाङ्गता भएका व्यक्तिहरूलाई तेस्रो श्रेणीका घाइते अपाङ्गता भएका भनेर परिभाषित गरेको छ।
कतिले पाउँछन् यस्तो भत्ता?
गृह मन्त्रालयका अनुसार लाभग्राहीको सङ्ख्या १०८८ जना छ भने सशस्त्र द्वन्द्वमा अनाथ भएका १८ वर्ष मुनिका बालबालिका ३४ जना र सहिद परिवार २६ जनाले यस्तो जीवन निर्वाह भत्ता पाइरहेका छन् । यीमध्ये ८६५ जना माओवादी सशस्त्र द्वन्द्वका घाइते अपाङ्गता भएका हुन् भने अन्य मधेश आन्दोलन लगायत पछिका अन्य आन्दोलनका घाइते अपाङ्गता भएका व्यक्तिहरू हुन् ।
कति पाउँछन् भत्ता?
• विशिष्ट श्रेणी: मासिक १८ हजार रुपैयाँ
• प्रथम श्रेणी: मासिक ९ हजार रुपैयाँ
• द्वितीय श्रेणी: मासिक ४ हजार रुपैयाँ
• सहिद परिवार: मासिक ७ हजार रुपैयाँ ।
यसबाहेक वर्गीकरणमा परेका घाइते अपाङ्गहरुमध्ये हेरचाह केन्द्रमा बस्न नचाहनेहरूका लागि घाइते अपाङ्गता भएकाहरूको हेरचाह गर्ने व्यक्तिको खर्च बापत् प्रति महिना छ हजार दुई सय र त्यस्ता हेरचाह केन्द्रमा बस्न नचाहने अपाङ्गता भएका व्यक्तिहरुलाई जीवन निर्वाहका लागि प्रति महिना छ हजार दुई सय रुपैयाका दरले जीवन निर्वाह भत्ता प्रदान गरिनेछ व्यवस्थासमेत गरिएको छ।
समान प्रकृतिका अपाङ्गता भएका व्यक्तिले पाउँदैनन् भत्ता
सरकारले माओवादी सेनाका घाइते अपाङ्गता भएका लडाकुहरू, सशस्त्र द्वन्द्व, ऐतिहासिक जनआन्दोलन र मधेश आन्दोलनका घाइते अपाङ्गता भएकाहरू शतप्रतिशत वा गम्भीर अपाङ्गता भएका व्यक्तिहरूलाई विशिष्ट श्रेणी तोकेर उनीहरूलाई मासिक १८ हजार रुपैयाँ जीवन निर्वाह भत्ता दिन्छ । यस्ता सशस्त्र द्वन्द्व वा आन्दोलनजन्य गतिविधिमा नलागेका समान प्रकृतिका अपाङ्गता भएका व्यक्तिका लागि यो श्रेणी नै छैन ।
सरकारले क वर्ग अन्तर्गत शतप्रतिशत वा गम्भीर अपाङ्गता भएका व्यक्तिहरूलाई मासिक ३ हजार ९०० रुपैयाँ दिन्छ ।
यस्तै द्वन्द्वजन्य तथा आन्दोलनजन्य गतिविधिबाट अपाङ्गता भएका आफ्नो दैनिकीको लागि सहयोगी उपकरणको प्रयोग गर्ने वा पुनरावलोकन भई ५० वा ५० प्रतिशतभन्दा माथि ७४ प्रतिशतसम्म अपाङ्गता भएका व्यक्तिहरूलाई प्रथम श्रेणीका घाइते अपाङ्गता भएका वर्गमा राखी मासिक ९ हजार रुपैयाँ भत्ता दिन्छ ।
सरकारले समान समान प्रकृतिका यस्ता सशस्त्र द्वन्द्व वा आन्दोलनजन्य गतिविधिमा नलागेका अपाङ्गता भएका व्यक्तिका लागि ख वर्गमा राखेर मासिक २ हजार १२८ रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिन्छ ।
प्रतिक्रिया दिनुहोस्