देशलाई सङ्कट पर्दा सबै एक ठाउँमा आएर निकास दिनु सबैको कर्तव्यः मन्त्री ठकुरी


काठमाडाैँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कर्णालीले विकास निर्माणदेखि राज्यको मूल प्रवाहमा महत्वपूर्ण स्थान ओगटेको बताएका छन् । 

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कर्णाली पछि परेको भनिए पनि आफूलाई त्यस्तो नलागेको बताए । उनले हरेक कुरामा कर्णाली अगाडी बढिरहेको जिकिर गरे । मन्त्री ठकुरीले सबै राजनीतिक दल र  जनप्रतिनिधिहरू कर्णालीको विकासको लागि एकमतका साथ अगाडी बढिरहेको दाबी गरे ।

विकास निर्माणका सवालमा सबै एकसाथमा रहेको बताउँदै आगामी दिनमा पनि सबै मिलेर अगाडी बढ्नुपर्नेमा उनले जोड दिए । उनले राजनीतिक आस्था र विश्वास आ–आफ्नो ठाउँमा भएपनि देशलाई सङ्कट परेको बेलामा सबै एक ठाउँमा आएर देशलाई निकास दिनु र विकास गर्नु सबैको कर्तव्य रहेको जिकिर गरे ।  

हरेक क्षेत्रमा कर्णालीका प्रतिभाहरू अगाडी बढिरहेको बताउँदै मुलुकको राजनीतिकदेखि प्रशासनिक क्षेत्रमा पनि कर्णालीको उल्लेखनीय उपस्थिति रहेको उनले बताए ।