स्याङ्जाको वालिङमा कुटपिटमा संलग्न एक जना पक्राउ


स्याङ्जा । स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा ढुंगा र बालुवा उत्खननको विषयलाई लिएर भएको विवाद कुटपिटमा परिणत भएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

घटना आइतबार साँझ करिब ५:४५ बजेको समयमा वालिङ नगरपालिका–९ सुर्कोदीदेखि कल्लेरीतर्फ जाने भित्री पक्की सडक खण्डमा भएको हो। भूपु स्कूल पारीपट्टी आँधिखोलामा ढुंगा र बालुवा उत्खननको विषयमा विवाद उत्पन्न भएपछि स्थिति तनावग्रस्त बनेको थियो।

घटनाको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न भएको आशंकामा वालिङ नगरपालिका–८ का २९ वर्षीय साजन पंगेनीलाई राति नै मिर्दीबाट लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार पीडित पक्षबाट उजुरी परेपछि साजन पंगेनीलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगसम्बन्धी कसूरमा ७ दिनको म्याद थप अनुमति लिइ कानूनी प्रक्रिया अघि बढाइएको छ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।