प्रधानमन्त्री ओलीको अध्यक्षतामा सुशासन आयोगको पहिलो बैठक सम्पन्न, दोस्रो बैठक अर्को साता बस्ने


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ।

बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण तथा आगामी दिनमा प्राथमिकताका रूपमा राखिने कार्यसूचीबारे परिचयात्मक छलफल गरिएको थियो।

आयोगमा प्रतिनिधित्व गर्ने राजनीतिक दल, विज्ञ तथा निजी क्षेत्रका सदस्यहरूको मनोनयन चाँडै हुने जानकारी दिइएको छ। मनोनयन प्रक्रिया सम्पन्न भएपछि अर्को साता दोस्रो पूर्ण बैठक बस्ने तय भएको छ।

गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय सुशासन आयोग गठन गरेको थियो।

आयोगमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, सामान्य प्रशासन तथा सङ्घीय मामिलामन्त्री राजकुमार गुप्ता लगायत सरकारका शीर्ष पदाधिकारीहरूको सहभागिता रहनेछ।

सरकारले सार्वजनिक प्रशासनमा पारदर्शिता, जवाफदेहिता र परिणाममुखी कार्यशैलीको प्रवर्द्धन गर्दै सुशासन कायम गर्ने उद्देश्यले आयोग गठन गरेको हो।