काठमाडौँ ।महानगर यातायातका अध्यक्ष सन्तोष खतिवडाले ‘महानगर यातायात’को नाम, रङ्ग र डिजाइन नक्कल गरेर एउटै रुटमा सञ्चालन भइरहेको नक्कली सवारीसाधनले यात्रु र कम्पनी दुवैलाई समस्या पारिरहेको बताएका छन्।
अध्यक्ष खतिवडाले विगतदेखि नै नक्कली बस सञ्चालनबारे सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराए पनि अहिलेसम्म कुनै कारबाही नभएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँका अनुसार सुरु देखिनै विद्यमान नियम तथा कानुनको अवज्ञा गर्दै नक्कली महानगर बसहरू सञ्चालनमा आउँदा यात्रुहरुले सेवा पाउन नसक्नुका साथै कम्पनीले अनावश्यक झण्झट झेल्नुपरेको छ।
“हाम्रै नाम, रङ्ग र डिजाइन हुबहु प्रयोग गरेर एउटै आकार प्रकारको बस एकै रुटमा चलिरहँदा यात्रु झुक्किन्छन्, कतिपयले आफ्नो कागजात, झोला हराउँछन् तर पछि थाहा पाउँछन् । उनी चढेको बस नक्कली महानगर थियो,” अध्यक्ष खतिवडाले भने । उनले यस्तो कामले यात्रुहरू अन्यौलमा पर्नुका साथै पीडितले न्याय पाउन नसक्ने अवस्था सिर्जना भएको दाबी गरे ।
उनले भने “सवारी दुर्घटनामा नक्कली महानगर संलग्न हुँदा पीडितहरु महानगरकै नाममा उजुरी दिन आउँछन्। तर अनुसन्धानपछि ती गाडी हाम्रो नभएको देखिन्छ। त्यसले हाम्रो छवि बिग्रनुका साथै सेवामा अवरोध पुग्छ, कतिपय अवस्थामा नियमित सेवा नै रोकिन्छ।”
यात्रुहरूको विश्वास र भरोसामा संचालित महानगर यातायातले राजधानीमा सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित बनाउँदै आएको छ। उहाँले हाल कम्पनीले पब्लिक लिमिटेडमा रूपान्तरण गरी आम जनतामाझ आफ्नो शेयर (आईपीओ) सार्वजनिक गर्ने तयारी समेत गरिरहेको जानकारी दिए ।
अध्यक्ष खतिवडाले अब उपरान्त नक्कली महानगर सवारीसाधनलाई सहेर नबस्ने चेतावनी पनि दिए। “अब हाम्रो नाम र डिजाइन प्रयोग गरी सञ्चालन भएका सवारीसाधनमाथि क्षतिपूर्तिको मागसहित आवश्यक कानुनी कारबाहीमा जान्छौं,” उनले भने ।
महानगर यातायात कम्पनीले सम्बन्धित निकायसँग कडा निगरानी र कारबाहीको माग गर्दै सार्वजनिक सेवा र सुरक्षामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस्