काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउट ऐनलाई समयानुकूल परिमार्जन गरी आवधिक निर्वाचन गराउन जरुरी रहेको बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित नेपाल स्काउटको ७४औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले स्काउट ऐन समयमै ल्याउन मन्त्रालय सक्रिय रहेको जानकारी दिएका हुन् । उनले नयाँ ऐनले वर्तमान समस्याहरूको समाधान गर्दै तीन तहकै सरकारलाई थप जिम्मेवार बनाउने विश्वास व्यक्त गरे ।
उनले विपद् व्यवस्थापनमा स्काउट स्वयंसेवकको भुमिका विशेष हुने भन्दै त्यसका लागि पूर्वतयारी र तालिम आवश्यक रहेको बताए । उनले भने, “हामीले विपद् व्यवस्थापन तालिमलाई थप प्रभावकारी बनाउन सके आपत्कालीन अवस्थामा स्काउटको भुमिका निर्णायक हुनेछ । यसतर्फ सरकारको लगानी र सहयोग हुनेछ ।”
कार्यक्रममा उनले स्काउटको आन्तरिक श्रोतको व्यवस्थापन गरी क्रियाकलापको विकास तथा विस्तार गर्न नेतृत्वलाई निर्देशन दिए । स्काउटको श्रोत तथा सम्पत्तिलाई एकीकृत गर्दै स्वामित्वमा ल्याएर परिचालन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
मन्त्री चौधरीले नेपाल स्काउटको संस्थागत विस्तारको लागि सन् २०३२ सम्ममा सात लाख संस्था पुर्याउने लक्ष्यसहित अघि बढ्न निर्देशन दिए । उनले समाजका सबै तह र तप्कामा स्काउटको बलियो उपस्थिति आवश्यक रहेको उल्लेख गर्दै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विशेष ध्यान दिनुपर्ने बताएका थिए ।
नेपाल स्काउटलाई सबै प्रदेश र स्थानीय तहसम्म विस्तार गरी समुदाय स्तरमा सक्रिय बनाउनुका साथै समाजमा रहेका विकृति र विसंगति अन्त्य गर्नु आजको आवश्यकता भएको मन्त्री चौधरीले बताए ।
प्रतिक्रिया दिनुहोस्