भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन, सबै एकजुट बनौँः प्रमुख सचेतक शाही


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणको विषयमा सबै दलहरु एकजुट भएर अघि बढ्न अपिल गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद शाहीले भिजिट भिसा प्रकरण कुनै दल विषेशको मुद्दा नभएको भन्दै एकजुट भएर अघि बढ्न आह्वान गरेका हुन् ।

उनले उक्त प्रकरणमा अहिलेका गहमन्त्री रमेश लेखकको मात्र नभई २०६४ साल यताका १४ जना गृहमन्त्रीमाथि छानविन हुनुपर्ने बताए । उनले लाखौँ नेपालीहरु विदेशमा भिजिट भिसाको नाममा बेचिएर अलपत्र परेको उल्लेख गर्दै तत्काल संसदीय छानविन समिति गठन गर्न माग गरे ।

उनले भने , ‘भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन । हामी सबैको साझा मुद्दा हो । आजको एकजना गृहमन्त्रीको कुरा होइन, २०६४ सालदेखिका १४ वटा गृहमन्त्रीको मुद्दा हो । राप्रपाको तर्फबाट सबै दलहरुलाई अपिल छ –हामी एक ठाउँमा आएर मानव बेचबिखनविरुद्ध एकजुट बनौँ । यो कुनै व्यक्ति वा दलको मात्र मुद्दा होइन । आज लाखौँ मान्छेहरु बेचिएर अलपत्र परेका छन् । जबसम्म यो भिजिट भिसा प्रकरणमा छानविन समिति बन्दैन तबसम्म आन्दोलन जारी रहन्छ ।’

उनले अवरोधका बीच संसद नचलाउन समेत सभामुखसँग आग्रह गर्दै अवरोधका बीच संसदको कारबाही अगाडि बढाए आजपनि बैठक बहिस्कार गर्ने शाहीले बताए ।