काठमाडाैँ । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले इजरायल र इरानमा रहेका नेपालीहरूको अवस्थाबारे सदनमा जानकारी गराउनुपर्ने माग गरेकी छन् ।
बिहीवार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो माग राखेकी हुन्। उनले मध्यपूर्वमा देखिएको तनावका कारण इजरायल र इरानमा रहेका नेपालीहरूका परिवार विक्षिप्त रहेको बताइन् ।
उनले मध्यपूर्वमा रहेका नेपालीहरू भन्दा बित्तिकै आउन सक्ने अवस्था नरहेको बताउँदै उनीहरूको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन् । उनले विश्वका शक्तिशाली मुलुकहरूले कमजोर मुलुकहरूलाई हेप्ने, हस्तक्षेप गर्ने र आफ्ना साम्राज्यहरू विस्तार गर्ने गरेको बताउँदै इजरायले निरन्तर गरेको आक्रमणले हजारौँ प्यालेस्टाइन नागरिकहरूको मृत्यु भएकोप्रति दुःख व्यक्त गरिन् ।
उनले इजरायली आक्रमणमा निर्दोष बालबालिका, महिलाहरू, वृद्धहरू मारिएको र २० लाख बढी बेघरबार भएको बताइन्। उनले यो अन्तर्राष्ट्रिय कानुन र मानवअधिकार विपरीतको नरसंहार रहेको बताउँदै सहन सक्ने अवस्था नरहेको जिकिर गरिन् । पछिल्लो समय विभिन्न देशहरूबिच बढेको युद्धले तेस्रो विश्वयुद्धलाई निम्त्याइरहेको जिकिर गरिन् । उनले विश्व युद्धले कुनै पनि मुलुकलाई ठिक नहुने बताइन् ।
प्रतिक्रिया दिनुहोस्