सांसद बस्नेतको टिप्पणीः दल र कार्यकर्तालाई पोस्ने गरी जथाभाबी बजेट विनियोजन भयाे


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले राजनीतिक दल र कार्यकर्तालाई पोस्ने गरी जथाभाबी बजेट विनियोजन भएको टिप्पणी गरेका छन् ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सबै मन्त्रालयहरूको बजेट विनियोजनको प्रकृति र अवस्थालाई हेर्दा आवधिक योजना र संवैधानिक व्यवस्थाहरूलाई आधार नबनाइएको भन्दै आपत्ति जनाए ।

उनले सरकारले राष्ट्रिय आवश्यकता अनुरूप निर्माणाधीन आयोजनाहरूलाई सम्पन्न गर्ने कुनै जिम्मेवारीवोध नगरी बजेट ल्याएको बताए । उनले सबै दृष्टिकोणले बजेट विनियोजन र आ–आफ्ना निर्वाचन क्षेत्रहरूलाई सुरक्षित गर्ने यो उद्देश्यद्वारा प्रेरित भएको आरोप लगाए।

सांसद बस्नेतले वैकल्पिक सहायक राजमार्गदेखि कोरिडोरको विषयहरूमा समेत बजेटको जथाभाबी विनियोजन भएको बताए ।उनले बजेटको जथाभावी विनियोजन र सरकारको स्वेच्छाचारी व्यवहारको कारण विरोधस्वरूप विरोधको प्रस्ताव दर्ता गरेको समेत बताए ।