विनियोजित बजेट सत्ताधारीमैत्री भएको काँग्रेस सांसद गिरीको आरोप


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद दीपक गिरीले आर्थिक वर्ष २०८२/८३ को विनियोजित बजेट सत्ताधारीमैत्री भएको आरोप लगाएका छन् ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गिरीले बजेट विकासमैत्री, लगानीमैत्री नभएर सरकारमैत्री भएको आरोप लगाएका हुन् । उनले झापामा होमस्टेदेखि पार्क निर्माणसम्मका लागि बजेट छुट्याइँदा चरिगाउँ विमानस्थललाई बेवास्ता गरेको दाबी गरे ।

उनले बजेटले दंगाली जनता र त्यहाँबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिप्रति विश्वासघात गरेको आरोप लगाए । प्रधानमन्त्रीले समेत पटक पटक संसदमा चरिगाउँ विमानस्थल बन्छ भनेर भनिरहेको अवस्थामा ७० देखि ९० करोडको अनुमान गरिएको जग्गा अधिकरणका लागि एक करोड विनियोजन गरेर जनप्रतिनिधिलाई नंग्याउन खोजेको बताए ।

उनले किरियापुत्री भवन बनाउन तीन करोड बजेट छुट्याउने सरकारले जनताको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने आयोजनालाई १ करोड बजेट छुट्याइनु हास्यास्पद र जनप्रतिनिधिलाई नंग्याउन खोजिएको टिप्पणी गरे । उनले अर्थमन्त्रीले सभामुख महोदयलाई पनि माया गरेर २५ लाखको एउटा आयोजना दिएको भन्दै व्यंग्य गरेका थिए ।