स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुन देशभरका स्थानीय तहलाई मन्त्रालयको पत्राचार


काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले राष्ट्र सेवक र संगठित क्षेत्रमा रहेका कर्मचारीको स्वास्थ्य बिमा कार्यक्रम सुरू गरिएको बताएका छन् ।

शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता बुढाथोकीले सम्बन्धित मन्त्रालयको सहजीकारका लागि थालेको पहल बमोजिम असार १ गते देशभरका गाउँपालिका र नगरपालिकालाई पत्राचार गरिएको जानकारी दिएका हुन् ।

उनले राष्ट्र सेवक र संगठित क्षेत्रमा रहेका कर्मचारीलाई कार्यक्रममा आबद्ध गराउँदा बिमा कार्यक्रमलाई दिगो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । साथै, नेपालमा स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु छुट्टाछुट्टै ऐनबाट सञ्चालित रहेकोमा सबै प्रतिष्ठानलाई एकीकृत रूपमा सञ्चालनका लागि मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

उनले विधेयकको मस्यौदामा कुनै राय सुझाव भए १५ दिनभित्र मन्त्रालयको इमेल ठेगानामा मस्यौदा विधेयकको दफा, प्रश्तावित व्यवस्था, राय सुझाव दिइएको विषय र पुष्ट्याइँसहितको ढाँचामा पठाउन सूचना प्रकाशन गरिएको बताए । उनले जनवरी १ देखि १९ सम्म एक सय ६४ र पछिल्लो एक सातामा ३३ वटा कोभिड संक्रमण पुष्टि भएको जानकारी समेत दिए ।