काठमाडाैँ । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले तीन करोडभन्दा तलको आयोजना केन्द्र सरकारले कार्यान्वयन नगर्ने निर्णय कागजमै सिमित भएको बताएका छन् ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले वर्तमान अर्थमन्त्रीले तीन करोड भन्दा तलको आयोजना नगर्ने प्रतिवद्धता जनाए पनि उक्त सिद्धान्तमा अडिग रहन नसकेको बताएका हुन्।
उनले आगामी आर्थिक वर्षको बजेटको प्रभावकारिता पनि गत वर्षहरूको जस्तै कम हुने चिन्ता व्यक्त गरे । बजेट विभिन्न ठाउँमा छरिएर विनियोजन हुने र परिणाम ननिस्कने अवस्था यसपालि पनि कायम हुनु दुःखद् भएको बताए ।
नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका डा. महतले तीन करोड भन्दा तलको आयोजना केन्द्र सरकारले कार्यान्वयन नगर्ने कार्यविधि बनाइए पनि उक्त कार्यविधिको कार्यान्वयन भएको बताए ।
उनले उक्त कार्यान्वयन हुन नसक्दा धेरै ठुलो समस्या आउने जिकिर गरे । उनले प्रदेशमा देखिएको अराजकताको कुरा गरेरै साध्य नभएको बताउँदै केन्द्र सरकार पनि त्यसबाट मुक्त हुन नसकेको उल्लेख गरे ।
उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बढीमा तीन/चार सय आयोजनाहरू प्रस्तावित हुनुपर्नेमा तीन हजार बढी आयोजनाहरू प्रश्तावित गरिएको भन्दै यसले परिमाण निकाल्न नसक्ने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्