काठमाडौँ । नविल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) भूपेन्द्र पाण्डेले पत्रकारहरूलाई वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर मात्र सूचना सम्प्रेषण गर्न आग्रह गरेका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा नविल बैंकको सहयोगमा काठमाडौंमा आयोजित दुई दिने ‘एडभान्स बैकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिष्ट’ कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै पाण्डेले भने, “वित्तीय क्षेत्र अत्यन्तै संवेदनशील हुन्छ, यसलाई नबुझी समाचार सम्प्रेषण गर्दा नकारात्मक असर पर्न सक्छ।”
उनले पछिल्ला दिनहरूमा बैंकिङ क्षेत्रसँग सम्बन्धित धेरै गलत र नकारात्मक समाचारहरू बाहिर आइरहेको भन्दै त्यस्ता सूचनाले समग्र आर्थिक वातावरणमै असर पारिरहेको बताए। “नबुझेको विषयमा गलत सूचना प्रवाह हुँदा बजारमा भ्रम फैलिन्छ,” उनले भने, “त्यसैले जिम्मेवार ढङ्गले, तथ्यमा आधारित सूचना सम्प्रेषण जरुरी छ।”
डेपुटी सिइओ पाण्डेले आर्थिक पत्रकारिता वित्तीय साक्षरताको संवाहक बन्ने उल्लेख गर्दै, बैंकिङ प्रणालीप्रति जनमानसमा विश्वास जगाउन आर्थिक पत्रकारहरूले गहिरो अध्ययनसहित सूचनाको सम्प्रेषण गर्नुपर्ने बताए । उनले ऋण लिने तर तिर्नु नपर्ने जस्ता भ्रमहरू हटाउनका लागि पनि वित्तीय साक्षरता बढाउनु आवश्यक रहेको बताए।
उनका अनुसार सञ्चारमाध्यममार्फत प्रवाह हुने सूचनाले बजारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले देशको आर्थिक सुधारमा पत्रकारिताको भूमिका निर्णायक बन्न सक्छ। “मुलुकको आर्थिक अवस्था अहिले चुनौतीपूर्ण अवस्थामा छ,” उनले भने, “यस्तो समयमा सञ्चारले सकारात्मक धारणा बनाउन भूमिका खेल्नुपर्छ।”
प्रतिक्रिया दिनुहोस्